काठमाण्डौ । नयाँ वर्ष २०७३ साल सुरु भएपछि बुधबार पहिलोपटक शेयरबजारमा एकैदिन १ अर्ब ७ करोड ९१ लाख बढीको शेयर किनबेच भएको छ ।

१ सय ३० कम्पनीका १३ लाख ९७ हजार ५ सय ३८ कित्ता शेयर ४ हजार १ सय २ वटा कारोबारमार्फत किनबेच भएको हो । कारोबार रकम अर्ब माथि उक्लदा नेप्से परिसूचक पनि ९.८८ अंकले बढ्दै १४४०.६९ अंकको नयाँ रेकर्ड बनेको छ ।

यो साता लगातार उकालो यात्रा गरिरहेको बिमाको सूचक बुधबार भने ओरालो लाग्यो । बिमाको रिक्ततालाई बैकिंग र अन्य सूचकले बिर्साइदिए । बैकिंग समूह १६.२३ को दोहोरो अंकले उक्लियो । अन्य समूहको सूचक ७.०५ अंकले माथि चढ्यो । फाइनान्स, होटेल र विकास बैंक समूहको सूचकमा सामान्य बढोत्तरी भयो । बुधबार बिमा समूहको सूचक २३.३५ को दोहोरो अंकले ओरालो लाग्यो भने जलविद्युत समूहको सूचक पनि रातो भयो ।  

बैकिंग समूहलाई माथि उठाउन एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, नेपाल इन्भेष्टमेन्ट बैंक, एनबी बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखियो । एभरेष्ट बैंकको मात्र २० करोड ४६ लाख मूल्यका शेयर किनबेच भयो । स्ट्याण्डर्ड चार्टर्डको ६ करोड ७२ लाख, इन्भेष्टमेन्ट बैंकको ५ करोड ९९ लाख, एनबी बैंकको ५ करोड ७० लाख मूल्यको शेयर किनबेच भयो ।

हामा, सेवा, बरुणका लगानीकर्ताले सबैभन्दा वढी गुमाए भने महिला सहयात्राका लगानीकर्ताले १० प्रतिशतले सम्पती वढाएका छन् भने मितेरी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशत हाराहारीमा कमाए । बुधबार सेन्सेटिभ इण्डेक्स २.३८ र फ्लट इण्डेक्स ०.७१ अंकले उकालो लागे ।