काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेन्ज (धितोपत्र बजार सञ्चालक) कमोडिटिज एक्सचेन्ज (वस्तु विनिमय बजार सञ्चालन) सञ्चालन तथा थप ब्रोकर (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी)को अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि आवेदन खुला गरेको छ। 

सरकारले हालै धितोपत्र बजार सञ्चालन नियमावली, २०७४ र धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी, २०६४ को चौथो संशोधन स्वीकृत गरेको थियो। योसँगै सेबोनले आज एक सूचना प्रकाशित गरी नयाँ स्टक एक्सचेन्ज र थप ब्रोकर लाइसेन्स वितरणका आवेदन खुला गरेको हो। यसका साथै सेबोनले कमोडिटिज एक्सचेन्जको लाइसेन्सका लागि आवेदन खुला गरेको छ। 

सेबोनले नयाँ स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जका लागि ४५ दिनभित्र र ब्रोकर लाइसेन्सका लागि ३० दिनभित्र आवेदन पेस गर्न आह्वान गरेको छ। यसका लागि सेबोनले विभिन्न सर्त अघि सारेको छ। 

नयाँ व्यवस्थाअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी १५ करोड रुपैयाँ कायम गरिएको छ। पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी ५० करोड रुपैयाँ र धितोपत्र व्यापारी कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ कायम गरिएको छ। 

यसअघिको व्यवस्थाअनुसार ब्रोकर कम्पनीको चुक्तापुँजी २ करोड रुपैयाँ रहेको छ।

यसैगरी संशोधित नियमावलीअनुसार अब सञ्चालनमा आउने नयाँ स्टक एक्सचेन्जको चुक्तापुँजी ३ अर्ब रुपैयाँ हुनुपर्नेछ। यसअघिको व्यवस्थाअनुसार चुक्तापुँजी ५ करोड रुपैयाँमात्र थियो। 

त्यस्तै धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ मा बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाले मात्र लगानी गर्न सकिने व्यवस्था उल्लेख गरिएको थियो। तर, संशोधित नियमावलीमार्फत भने अब पब्लिक वा प्राइभेट जुनसुकै योग्य संस्थागत लगानीकर्ताले लगानी गर्न सक्ने व्यवस्था गरिएको छ।