काठमाण्डौ । सर्वोच्च अदालतले नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रक्रिया तत्काल रोक्न अल्पकालीन आदेश दिएको छ । 

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले तत्काल लाइसेन्स बाँड्ने प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको हो।

अधिवक्ता दीपकविक्रम मिश्रले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाइसेन्स र वस्तु विनियम बजार सञ्चालनको लाइसेन्स दिने प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले विपक्षीविरुद्ध कारण देखाउ आदेश र अन्तरिम आदेशको छलफलको लागि उपस्थित हुने आदेश जारी गरेको हो।

धितोपत्र बोर्डले असोज २ गते एकैपटक नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजार सञ्चालनका लागि आवेदन खुलाएको थियो । नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ वटा कम्पनीले आवेदन दिएका छन् । नयाँ ब्रोकर र वस्तुविनिमय बजार सञ्चालनका लागि आवेदन दिने समय भने कात्तिक १५ गतेसम्म रहेको छ ।