काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेञ्जका लागि धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ का ३ वटा व्यवस्थामा संशोधन गर्दै मस्यौदा तयार पारी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ। 

सेबोन सञ्चालक समितिको बैठकले अघिल्लो साता नै संशोधित नियमावलीको मस्यौदा स्वीकृति गरेको थियो। सोही मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको सेबोनका प्रवक्ता रुपेश केसीले बताए। ‘संशोधित नियमावली स्वीकृतिका लागि अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गर्नेछ’, उनले भने, ‘मन्त्रिपरिषद् पास गरेपछि सेबोनले कार्यान्वयनमा ल्याउने छ।’ 

केसीका अनुसार नियमावलीमा ३ वटा व्यवस्थामा संशोधन गरिएको छ। चुक्तापुँजी, लगानीको व्यवस्था र सेयर हिस्सा ग्रहणको व्यवस्थामा संशोधन गरिएको केसीले जानकारी दिए। ‘नयाँ स्टक एक्सचेन्जका लागि न्यूनतम चुक्तापुँजी ३ अर्ब रुपैयाँ प्रस्ताव गरी नियमावली संशोधन गरिएको छ’, उनले भने। हाल चुक्तापुँजी ५ करोड भए पुग्ने व्यवस्था छ।

यसैगरी संशोधन नियमावलीमा अन्य संस्थागत लगानीकर्ताले समेत लगानी गर्ने सक्ने व्यवस्था गरिएको केसीले जानकारी दिए। ‘पब्लिक वा प्राइभेट जुनसुकै योग्य संस्थागत लगानीकर्ताले लगानी गर्न सक्ने व्यवस्था गरिएको छ’, उनले भने। हाल बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाले मात्र स्टक एक्सचेन्जको सेयरमा लगानी गर्न सक्ने व्यवस्था छ।

संशोधित नियमावलीमा कुनै एक संगठित संस्था वा कम्पनीले नयाँ स्टक एक्सचेन्जमा लगानी गर्न सक्ने सीमा पनि बढाइएको छ। हाल कुनै एक कम्पनी वा संगठित संस्थाले स्टक एक्सचेन्जको चुक्तापुँजीको १० प्रतिशतभन्दा बढी हिस्सा ग्रहण गर्न नपाउने व्यवस्था छ। ‘त्यसलाई बढाएर १५ प्रतिशत पुर्याइएको छ’, केसीले भने।