काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विदेशीमा धितोपत्र बजार सञ्चालन गरिरहेका कम्पनी वा संगठित संस्थाले पनि नेपालको धितोपत्र बजार (स्टक एक्सचेन्ज)मा लगानी गर्न पाउने व्यवस्था गरेको छ। 

सेबोनले सरकारको स्वीकृतिमा धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। नेपालबाहेक अन्य मुलुकमा धितोपत्र बजार सञ्चालन गरिरहेको कम्पनी वा संगठित संस्थाले धितोपत्र बजारको स्थामित्व ग्रहण गर्ने भएमा सम्बन्धित मुलुकको नियमनकारी निकायबाट धितोपत्र बजार सञ्चालन गर्ने अनुमति प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरेको छ। 

त्यस्तै त्यस्ता विदेशी साझेदारले कम्तीमा १० वर्षदेखि धितोपत्र बजार सञ्चालन गरिरहेको तथा प्रचलित कानुनबमोजिम नेपालमा लगानी वा व्यवसाय गर्न अनुमति प्राप्त गरेको वा नेपाल सरकारले स्वीकृति दिएको हुनुपर्ने व्यवस्था पनि सेबोनले गरेको छ। 

संशोधित नियमावलीमा नयाँ धितोपत्र बजारले धितोपत्र कारोबारका लागि कारोबार प्रणाली र सोसँग सम्बन्धित अन्य प्रविधि खरिद वा जडान गर्दा परीक्षण भएको मात्रै ल्याउनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तो कारोबार प्रणाली तथा प्रविधि नेपालबाहेक अन्य मुलुकमा न्यूनतम १० वर्षदेखि निरन्तर सञ्चालनमा रहेको कम्तीमा ३ वटा धितोपत्र बजार सञ्चालनले प्रयोग गरेको प्रणाली वा प्रविधि हुनुपर्ने व्यवस्था गरेको छ।

संशोधित नियमावलीमा ३ अर्ब चुक्तापुँजीसहित नयाँ धितोत्रप बजार सञ्चालक (स्टक एक्सचेन्ज) सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ। हाल सञ्चालनमा रहेको धितोपत्र बजारका लागि उक्त व्यवस्था लागू नहुने उल्लेख छ।

संशोधित नियमावलीमा नयाँ स्टक एक्सचेन्जले कारोबार सञ्चालन गरेको २ वर्षभित्र जारी पुँजीको ३० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासन गर्नुपर्ने व्यवस्था गरिएको छ। तर, हाल सञ्चालनमा रहेको नेपाल स्टक एक्सचेन्जका लागि उक्त व्यवस्था लागू नहुने उल्लेख छ।

यस्तै धितोपत्र बजारमा संगठित संस्था र धितोपत्र व्यवसायीले मात्रै लगानी गर्न सक्ने व्यवस्थालाई संशोधन गर्दै अब प्राइभेट कम्पनी र संगठित संस्थाले लगानी गर्नसक्ने व्यवस्था भएको छ। कुनै एक कम्पनी संगठित संस्था वा त्यस्ता संस्थाको सञ्चालक र सेयरधनी, निजको नजिकको नातेदार रहेका कम्पनीले धितोपत्र बजारको कुल सेयर पुँजीको १५ प्रतिशतसम्म सेयर लगानी गर्नसक्ने व्यवस्था भएको छ। यसअघि १० प्रतिशत मात्रै लगानी गर्नसक्ने व्यवस्था थियो।