काठमाण्डौ । अमेरिकी डलरको भाउ शुक्रबार हालसम्मकै उच्च स्तरमा पुगेको छ। लगातार चौथो दिन डलरको भाउ कीर्तिमानी स्तरमा पुगेको हो। 

नेपाल राष्ट्र बैंकले आज डलरको बिक्री दर १२८.११ रुपैयाँ तोकेको छ। जुन बिहीबारको तुलनामा ३९ पैसाले बढी हो। बुधबार डलरको बिक्री दर १२७.६६ रुपैयाँ थियो। 

डलरको भाउ बढ्दा आयातीत सामानको मूल्य पनि बढ्छ। यसले उपभोग्य वस्तुको भाउ पनि बढ्नेछ अर्थात उपभोक्ताले आफ्नो दैनिक उपभोग्य सामान किन्न अब बढी खर्च गर्नुपर्ने हुन्छ।

डलरको भाउ बढ्दा वैदेशिक रोजगारमा गएकाहरुबाट प्राप्त हुने रेमिट्यान्स आम्दानी भने बढ्नेछ। निर्यात व्यापारबाट हुने आम्दानी पनि वृद्धि हुनेछ। तर, नेपालको परिवेशमा निर्यातभन्दा आयातको परिमाण उच्च भएकोले अर्थतन्त्रमा नकारात्मक असर पर्ने विज्ञहरु बताउँछन्।

वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुनेछ। 

बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप महँगिनेछ। विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुनेछ।