काठमाण्डौ । दिनभरको रस्साकस्सीपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री बन्न सफल भएका छन्। 

आज बिहान बालुवाटरमा नेपाली कांग्रेससँग भएको सत्ता गठबन्धनको छलफलमा प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा सहमति जुट्ने सकेन। त्यसपछि बालुवाटरबाट प्रचण्ड नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए। 

बालकोटमा भएको छलफलमा ७ दलको समर्थनमा प्रचण्डलाई साढे २ वर्षका लागि प्रधानमन्त्री बनाउने सहमति भएको थियो। त्यसपछि एमाले साढे २ वर्ष प्रधानमन्त्री पाउनेछ। 

प्रचण्डलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न दलका शीर्ष नेताहरु राष्ट्रपति निवास पुगेका थिए। आज साँझ ५ बजेभित्रै प्रचण्डले आफ्नो नेतृत्व सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गरेका थिए। 

राष्ट्रपति भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै नयाँ सरकार गठनका लागि बाटो खुला गरिदिएकी छिन्। प्रचण्डले भोलि दिउँसो ४ बजे शीतल निवासमा प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्नेछन्। 

अब सम्भवतः भोलि नै प्रचण्डको नेतृत्वमा सानो आकारको भए पनि मन्त्रिमण्डल गठन हुनेछ। मन्त्रालय बाँडफाँडका लागि गठबन्धनमा रहेका दलहरुबीच तीव्र छलफल हुने देखिन्छ।   

नयाँ सरकारमा अर्थमन्त्री को हुने भन्ने विषयमा निकै चर्चा चलिरहेको छ। सेयर बजारका लगानीकर्ताहरुले नयाँ अर्थमन्त्रीका विषयमा निकै चासो दिएका छन्। 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि अर्थमन्त्री एमालेले पाउने राजनीतिकवृत्तमा व्यापक अड्कलबाजी चलिरहेको छ। ‘अर्थमन्त्रीमा एमालेका विष्णु पौडेलको सम्भावना प्रबल छ’, एक राजनीतिक विश्लेषक भन्छन्। 

अर्काथरि राजीतिक विश्लेषकहरु भने माओवादी केन्द्र र एमालेबीच गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेका वर्षमान पुन अर्थमन्त्री बन्न सक्ने अनुमान पनि लगाउँछन्। पौडेल र पुन यसअघि पनि अर्थमन्त्री भइसकेका व्यक्ति थिए। 

केही राजनीतिक विश्लेषक भने यसपालि अर्थमन्त्रीमा अर्थतन्त्र बुझेका नयाँ व्यक्ति आउन सक्ने आँकलन पनि उत्तिकै गर्छन्। 

बजार जानकार सरोज भट्टराई विगतको इतिहास हेर्ने हो भने माओवादी सरकारको नेतृत्व सम्हाल्दा २०६५ सालबाहेक अरु बेला सेयर बजारले गति लिन नसकेको बताउँछन्। ‘बजारको दिशा अब बन्ने अर्थमन्त्रीमा भर पर्छ तर अहिले नै को अर्थमन्त्री बन्लान् भन्ने विषयमा अनुमान लगाउन कठिन छ’, उनले भने।

अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना रहेको भट्टराईको भनाइ छ। ‘ओलीनिकट अन्य नेताहरुले यसपालि चुनावमा हार व्यहोरेका छन्, त्यसैले पौडेलकै सम्भावना छ’, उनले भने, ‘तर, यो गठबन्धन सरकार हुने भएकोले अर्थमन्त्री एमालेले नै पाउँछ भन्ने निक्र्यौल गर्न गाह्रो छ।’

एमालेबाट अर्थतन्त्री भएमा राष्ट्र बैंक केही लचिलो हुन सक्ने भएकोले पुँजीबजारमा सकारात्मक प्रभाव पर्न सक्ने भट्टराईको भनाइ छ। 
अर्का बजार जानकार दमोदर गजुरेल नयाँ सरकारमा अर्थमन्त्री पुरानै दोहोरिने सम्भावना कम रहेको बताउँछन्। ‘सरकार बनाउन विष्णु पौडेल र वर्षमान पुन दुवैको सक्रियता बढी देखिएकोले अर्थमन्त्रीमा दुवैको सम्भावना देखिन्छ’, उनले भने। 

यदि अर्थ मन्त्रालय एमालेको भागमा परे विष्णु पौडेलको सम्भावना प्रबल रहेको गजुरेल बताउँछन्। ‘पौडेल वा पुन जो अर्थमन्त्री भए पनि सेयर बजारमा सकारात्मक प्रभाव पर्छ’, उनले भने। 

यसअघिको गठबन्धन सरकारमा कांग्रेसबाट प्रधानमन्त्री बन्दा माओवादी केन्द्रले अर्थ मन्त्रालय पाएकोले यसपालि प्रचण्ड प्रधानमन्त्री बनेका कारण अर्थ मन्त्रालय एमालेले पाउने अर्का बजार जानकार वैकुण्ठ पौडेल बताउँछन्। ‘प्रधानमन्त्रीलाई काम गर्न सहज गर्ने हिसाबले माओवादी केन्द्रलाई नै अर्थ मन्त्रालय दिने सम्भावना पनि उत्तिकै छ’, उनले भने, ‘यस्तो अवस्था बन्यो भने प्रचण्डनिकट जनार्दन शर्मा नै अर्थमन्त्रीमा दोहोरिन सक्छन्।’

पौडेल रवि लामिछानेको पार्टी पनि गठबन्धनमा चौथो ठूलो दल भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीले महत्वपूर्ण मन्त्रालयहरु पाउन सक्ने बताउँछन्। ‘नयाँ सरकारमा लामिछानेले उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी पाउन सक्छन्’, उनले भने, ‘हरि ढकालले अर्थराज्यमन्त्रीसम्म जिम्मेवारी पाउन सक्लान्।’