काठमाण्डौ । सेयर बजारको आफ्नै लय र दिशा हुन्छ । गत बुधबार दशैं बिदापछि खुलेपछि कारोबार रकमसमेत ३ अर्ब रुपैयाँ नाघ्यो । नेपालीहरुको महान चाड दशैं र तिहारका बीच यसअघि सधैं औसत कारोबार प्रदर्शन गर्दै बजार साइडवेजमा गएको इतिहास विपरीत यसपटक भने दशैं बिदापछि पनि कारोबार रकम र परिसूचकमा समानान्तर वृद्धि देखापर्नु सेयर बजारका लागि निकै सुखद् हो । यो सुखद क्षणका लागि अनलाइन कारोबार प्रणालीको पनि केही योगदान छ भने कोभिड १९ ले अन्य लगानीका क्षेत्र सुषुप्त बन्दा सेयर बजारमा नै लगानीको वातावरण देखेर आउने जमात पनि बाक्लिदै गइरहेको छ । हिजोआज सेयर बजार गुल्जार बन्दै जाँदा देश तथा बिदेशबाट समेत सेयर कारोबारमा सक्रिय उपस्थिति देखिन थालेको छ । 

कोभिड १९ कहरका बीच नेप्से परिसूचकको पारो समेत विगत १ वर्षदेखि बुलिस ट्रेण्डउन्मुख छ । अब बजारले वियरिस ट्रेण्डमा नजाने लगभग पक्कापक्की भइरहेको र बजार बढ्ने नै मनोविज्ञान लगानीकर्ताहरुमा हाबी देखिन्छ । विगत ३ दशकयता सेयर बजारलाई नै पेशाका रुपमा अँगाल्दै आइरहेका र सेयर बजारको उत्तारचढावलाई गहिरो अध्ययन र विश्लेषण गर्दै होमिएका भेट्रान लगानीकर्ता तथा विश्लेषक अम्बिकाप्रसाद पौडेलले चाहिँ हाल र आगामी दिनको बजारलाई कसरी हेरिरहेका होलान् ? जान्न खोजेका छन् बिजशालाका विशेष संवाददाता भक्तराज रसाइलीले । 

अहिलेको बजारको विषयमा तपाईको विश्लेषण के हो ? 
नेप्से परिसूचक ११ सय विन्दू नै न्यूनतम विन्दू र आधार खम्बाका रुपमा मैले भन्दै आइरहेको छु । सेयर बजार सधैं चक्र र समयअनुसार सञ्चालित हुन्छ । यो चक्र सत्य हुन्छ र लागू पनि हुन्छ । चक्रानुसार नै बजार चल्ने पनि हो । अहिले लगानीकर्ताहरुका लागि मुख्य विषय ब्याजदरमा ३३ प्रतिशत कटौती हुनु भनेको ३३ प्रतिशत स्वतः नाफा हुनु हो भन्ने मेरो ठहर हो । आजको दिनमा बैंक बचतमा १ देखि ३ प्रतिशत ब्याजदर र मुद्धतीमा ७ देखि ८ प्रतिशत ब्याजदरको प्रतिफल भन्दा सेयर बजारको प्रतिफल धेरै छ । सूचीकृत कम्पनीहरुमा ३ प्रतिशत हाराहारी रिटर्न त जुनसुकै कम्पनीमा अन्धाधुन्ध लगानी गर्दा पनि आउँछ । मुद्धतीको रिटर्न भन्दा बढी सेयर बजारले दिइरहने यही सुन्दरताले बजार माथि जान मद्धत गरेको छ । लगानीका क्षेत्र संकुचित हुँदै जानु र अधिक तरलताले गर्दा अहिले पूँजीबजारमा लगानी गर्ने लहड आएको छ । अनलाइन कारोबार प्रणालीको व्यापकताले गर्दा गाउँगाउँमा, मोबाइल मोबाइलमा र देशविदेशमा पुगेका कारण सेयर बजारको चासो पनि निकै फैलँदो छ ।

सेयर बजारमा लगानी गर्दै आइरहेका लगानीकर्ताले बुलिस बजारमा के-के विषयमा ध्यान दिनुपर्ला ?
सूचीकृत कम्पनीको कार्यसम्पादन बढ्दै जानु र पूँजी लागत घट्दै जानुले समेत अब सेयर लगानी स्वर्णिम बनेको छ । हामी बुलिस ट्रेण्डउन्मुख भएकाले २ देखि अढाइ वर्षसम्म रहने बुलिस बजारमा हतोत्साही नभई संयमित बन्दै सामथ्र्यअनुसार लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गर्दछु । सुझबुझपूर्ण सेयर लगानी आगामी अढाइ वर्षसम्म अधिक सुरक्षित छ । आगामी दिन अझै सुनौला हुनेछन् ।

यसअघिको बुलिस बजारमा माइक्रो र इन्स्योरेन्स हुँदै बैंकले लिड गरेको थियो । अब तपाईँको विचारमा चाहिँ कुन सेक्टरले बजारमा लिड गर्ला ?
अबको बुलिस बजारमा यही सेक्टरले लिड गर्छ भन्ने अवस्था त छैन । यद्यपि हाइड्रो, माइक्रो, बीमा सेक्टरहरुमा केही अस्पष्टता र अन्यौलता देखिन्छ । मेरो विचारमा चाहिँ अपेक्षा गरेभन्दा राम्रो पर्फमेन्स गर्र्ने सेक्टरले नै लिड गर्छ । तर यो वर्षको अन्तिम वासलात अध्ययन गरिसकेपछि भने क्लियर पिक्चर देखिन्छ र अनि मात्रै प्रक्षेपण गर्न सकिनेछ ।

बुलिस बजारमा कमाउने टिप्सहरु के-के हुन् ?
बुलिस बजारमा नयाँ कम्पनीले लिड गरेको नजिर हामीसामु छ । सूचीकृत कम्पनीहरुका ग्रोथ, बिजनेस एक्स्पान्सन, लाभांश नीति, पूँजी योजना, व्यवस्थापन तथा बोर्डको कार्यसम्पादन हेरेर उत्तम कम्पनीमा ढुक्कसँग लगानी गर्दा सेयरमा कुस्त कमाउन सकिन्छ । अब बजार बुलिस ट्रेण्ड उन्मुख भएको शतप्रतिशत सत्य हो । निश्चित समयको फ्रेम र बढी लाभांश दिने कम्पनीहरुमा लगानी गरेमा सफल भइन्छ । बुलिस बजारमा ट्रेडर(कारोबारी) भन्दा पनि लगानी(दीर्घकालीन) गर्नुहोस्, सेयरबाट कमाइन्छ ।

नेप्से परिसूचक १७०० विन्दू नजिक छ अर्थात् अलटाइम हाइकै वरिपरि पुग्ने तरखर गरेको देखिन्छ । यद्यपि सूचीकृत कम्पनीका सेयरमूल्य अहिले पनि अण्डरभ्यालु वा न्यून विन्दू छ जस्तो लाग्दैन तपाईँलाई ?
हो, यही अनुभूतिले नै त हो बजारले नयाँ नयाँ विन्दू चुम्ने । बैंकका सेयरमूल्य अहिले पनि निकै तल्लो विन्दूमा छ । मेरो विचारमा इण्डेक्स र बजार पूँजीकरणबीच तुलना चाहिँ गर्न मिल्दैनजस्तो लाग्छ ।

सेयर बजारमा धेरै विषयले असर र प्रभाव पर्छ । अहिले ब्याजदर निकै कम भएकाले बजार बढेको हो भनिन्छ  । सरकारी नीतिले ब्याजदर भोलिका दिनमा बढेमा बुलिस बजारमा ब्रेक लाग्ला ? अबको सेयर बजारका निम्ति के कस्ता चूनौती देख्नुहुन्छ ?
ब्याजदरभन्दा पनि सूचीकृत कम्पनीहरुका पर्फमेन्स बढिरहेको पाइन्छ । कम्पनीको कमाइले ब्याजदरलाई ओझेलमा पार्दछ । सेयर बजारलाई नै उद्यम वा पेशा बनाउने सपना बुनिरहेका हजारौं युवाहरु, विभिन्न पेशाबाट रिटायर्ड व्यक्तित्वहरुको सहभागिता र संख्या दिनानुदिन बढिरहेको छ । त्यसैले अब आगामी दिनमा ब्याजदरको विषय गौण हुन्छ । बुलिस मानसिकताले नै बजारलाई उचाल्ने हो, जहाँ हामी सँघारमा आइपुगिसकेका छौं । आउँदै गरेको नयाँ अँग्रेजी वर्षमा नै नेप्से परिसूचकले ऐतिहासिक विन्दूको रेकर्ड ब्रेक गर्छ ।