काठमाण्डौ । बेलायतमा देखिएको नयाँ प्रजातिको कडा खालको कोरानाभाइरस युरोपका अधिकांश देशहरुमा देखिन थालेपछि स्वाथ्य सुरक्षाको चुनौती थपिएको छ।

नयाँ प्रजातिको कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि जर्मन स्वाथ्यमन्त्री जेन्स स्फानले आफ्ना देशका नागरिकलाई सचेत रहन र भीडाभाड र भेटघाट नगर्न अपिल गरेका छन्। उनले कोरोनाविरुद्धको खोप सर्वसाधारणमा पुग्न अझै २–३ महिना लाग्ने बताएका छन्। 

जर्मन चान्सलर एन्जेला मर्केलले पनि अन्य देशबाट हुने आवतजावतमा कडा नियन्त्रण गरिने घोषणा गरेकी छन्। उनले राजधानी बर्लिनमा लकडाउन अप्रिल पहिलो सातासम्म कायम रहने पनि स्पष्ट पारिन्। 

उता डेनमार्क सरकारले पनि लकडाउन अझै लम्बिने संकेत गरेको छ। स्पेनमा पनि अत्यावश्यक कामबाहेक सर्वसाधरणलाई घरबाहिर ननिस्कन अपिल गरिएको छ। ग्यालेसियाले समेत अत्यावश्यक पसलहरुबाहेक रेस्टुरेन्ट तथा पबहरु बन्द गरेको छ।

स्मरण रहोस् पूरै युरोपभरि नोभेम्बरको तुलनामा डिसेम्बर र जनवरी पहिलो साता नयाँ कडा खाले भाइरसको मामिला ४५६ बाट बढेर १ लाख पुगेको छ। योसँग पूरै युरोपेली मुलुकहरुले फेरि राष्ट्रव्यापी लकडाउन गरेका छन्। – एजेन्सी