काठमाण्डौ । दैनिक रुपमा प्रयोग हुने सम्पूर्ण सामान भरपर्दो र विश्वाशिलो माध्यमबाट एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले नयाँ ई–कमर्स वेबसाइट किन्निहो डटकम सुरु भएको छ। 

कोरोना महामारीबीच बढ्दै गएको ई–कमर्स व्यवसायमा सबै किसिमका ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि यो नयाँ ई–कमर्स वेबसाइट सुरु गरेको कम्पनीले जनाएको छ। 

कम्पनीले आफ्नो वेबसाइटमा सबै प्रकारका ल्यापटप, मोबाइललगायतका इलेक्ट्रोनिक्स, स्टेसनरी र अफिस सप्लाई, सौन्दर्य, खेल तथा मनोरंजनसम्बन्धी सामग्री उपलब्ध रहेको जनाएको छ। किन्निहोले ग्राहक सेवालाई मध्यनजर गर्दै सबै किसिमका सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउनुका साथै सुचारु भएको एक महिनासम्म फ्री डेलिभरी सेवा पनि प्रदान गर्ने कम्पनीका सीईओ नरेश पोखरेलले जानकारी दिए। उनले नयाँ वेबसाइटमा सबै किसिमका पेमेन्ट गेटवेहरुबाट अनलाइन पेमेन्ट गर्न सकिने र विदेशमा समेत डेलिभरी दिइने बताए। 

कम्पनीले विगत एक दशकदेखि न्यु मुक्तिनाथ ट्रेडर्स एन्ड सप्लायर्सको नामबाट थोक तथा खुद्रा ब्यवसायका रुपमा कागज तथा पब्लिकेसनका लागि चाहिने सम्पूर्ण सामान बिक्रीवितरण गर्नुका साथै घरायसी सामान, किचनवेयर, इलोक्ट्रोनिक सामान तथा अन्य वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको छ।