काठमाण्डौ । निजी क्षेत्रका अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्न सक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिक इन्टरनेसनल हस्पिटलले पनि आज पुस २९ गते (बिहीबार)देखि खोप केन्द्र सञ्चालन गर्ने भएको छ। 

काठमाण्डौको थापाथलीस्थित नर्भिक अस्पतालले बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियानलाई सहयोग गर्न खोप केन्द्र सञ्चालन गर्ने भएको हो। 

सरकारी स्वास्थ्य संस्थाहरुको सहकार्यमा खोप केन्द्र सञ्चालन गर्न लागिएको हो। स्वास्थ्य मन्त्रालयले तोकेको उमेर समूह र लक्षित वर्गका लागि दैनिक रुपमा खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए। 

साबिकको ज्वरो क्लिनिक परिसरमा व्यवस्थित ढंगले खोप अभियान सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको मिश्रले बताए। उनका अनुसार स्वास्थ्य मापदण्डहरुको पूर्ण पालना हुने गरी व्यवस्थित ढंगले खोप अभियान सञ्चालन हुनेछ। 

नर्भिकमा हाल कोभिशिल्ड र भेरोसेल गरी दुई खालका खोप उपलब्ध हुनेछन्। सर्वसाधारणले नर्भिकको खोप केन्द्रमा आएर सुरक्षित ढंगले खोप लगाउन सक्नेछन्।