काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले अस्पतालस्तरमा देशकै पहिलो र एकमात्र नेशनल एक्रिडिटेसन बोर्ड फर टेस्टिङ एन्ड क्यालिब्रेसन ल्याब्रोटोरिज(एनएबिएल) आइएसओ सर्टिफाइड ल्याब्रोटरी सञ्चालन गरिरहेको छ। 

अस्पताल स्तरको पहिलो र एकमात्र एनएबिएल आइएसओ सर्टिफाइड प्रयोगशाला भएका कारणसमेत यसको गुणस्तरीय सेवाप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्न थालेको छ। 

प्रयोगशाला प्रमुख डा. सुशीलराम श्रेष्ठका अनुसार एनएबिएलले तोकिदिएको मापदण्डअनुसारको गुणस्तरीयता कायम गरेका कारण पनि नर्भिक ल्याब्रोटोरीले सर्वसाधारणहरुको मन जित्न सफल भएको हो। ‘नर्भिकको ल्याब त्यस्तो ल्याब हो, जहाँबाट तयार हुने अधिकांश रिपोर्ट डाक्टरले भेरिफाई गर्छन्। अरुमा टेक्निसियनको साइन राखेर रिपोर्ट दिइन्छ’, डा. श्रेष्ठले भने, ‘हामीसँग ५ जना त प्याथोलोजिस्टमात्र हुनुहुन्छ। एकजना माइक्रोबायोलोजिस्टसहितको करिब ३५ जनाको टिमले नर्भिक ल्याब्रोटरीलाई ‘बी क्याटेगोरी’मा देशकै नमुना प्रयोगशाला बनाउने महत्वपूर्ण सफलता पाएको छ।’

डा. श्रेष्ठका अनुसार नर्भिकको प्रयोगशालाअन्तर्गत सञ्चालित विभिन्न विधाहरुमध्ये ५ वटा स्पेसल टेस्टले समेत आइएसओ सर्टिफिकेट पाएका छन्। ‘हेमाटोलोजी, बायोकेमेस्ट्री–हर्मोन, माइक्रोबायोलोजी, क्लिनिकल प्याथोलोजी, हिस्थो प्याथोलोजी, साइको प्याथोलोजीजस्ता सेवामा हामी आइएसओ सर्टिफाइड हो’, डा. श्रेष्ठले भने, ‘धेरै सेक्टरमा आइएसओ सर्टिफाई प्राप्त गर्ने सम्भवतः नर्भिकको ल्याब पहिलो र एक हो।’

उच्च गुणस्तर कायम गरेकै कारण नर्भिकको प्रयोगशालाबाट वार्षिक हजारौँले सेवा लिने गरेका डा. श्रेष्ठले सुनाए। उनले भने, ‘नर्भिकले आफ्नो ल्याब्रोटोरीको क्वालिटी कन्ट्रोलमा जति ठूलो लगानी गरेको छ, अरुले सायदै गरेका होलान्। यही कारण पनि हामीले दिने रिपोर्ट सधैँ अब्बल हुन्छ। सेवाग्राहीको फिडब्याक पनि राम्रो छ।’ 

नियामकले तोकेका र एनएबिएलका मापदण्डसमेत पूरा गर्दै अगाडि बढी जनविश्वास कमाएकै कारण पछिल्लो समय गत असारमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नर्भिकको ल्याब्रोटोरीलाई दिएको सञ्चालन अनुमति ५ वर्षका लागि पुनः नवीकरण गरिदिएको छ। ‘धेरै कम अस्पतालमध्ये नर्भिक पनि त्यस्तो अस्पतालमा पर्छ, जसले ल्याब सञ्चालनका लागि छुट्टै अनुमति लिने गरेको छ’, डा. श्रेष्ठले भने, ‘नभए त कतिपयले भर्याङमुनि ल्याबको नाममा नमुना कलेक्सन सेन्टर सञ्चालन गर्ने गरेका छन्। पर्याप्त र फराकिलो ठाउँ हुनुपर्ने, अनुकूल वातावरणमा मसिनहरु राख्नुपर्नेजस्ता सामान्य मापदण्ड पनि पूरा नगर्ने ठाउँमा ल्याब परीक्षण गर्न जाँदा सही रिपोर्ट नआउन सक्छ।’ 

डा. श्रेष्ठका अनुसार आइएसओले बनाएको मापदण्डअनुसार नर्भिक ल्याब्रोटोरीमा काम हुन्छ। ‘प्रत्येक दिन बिहान, दिउँसो र बेलुका क्वालिटी कन्ट्रोल र जाँचको काम हुन्छ। हाम्रा मसिनले निकालेको भ्यालु ठीक छ वा छैन भनेर प्रत्येक दिन ३ पटक हेर्छौं’, उनले भने, ‘यो क्रममा कुनै मसिनले ठीक भ्यालु निकालेको छैन भने पहिला नै थाहा हुन्छ। डेटामा पनि उत्तिकै काम हुन्छ।’ 

उनका अनुसार इन्टरनलसँगै एक्सटर्नल क्वालिटी कन्ट्रोलको काम पनि हुन्छ। त्यो चाहिँ प्रत्येक महिना हुन्छ। ‘एक्सटर्नल क्वालिटी कन्ट्रोल चाहिँ हामीसँग सम्बन्ध नभएको कुनै थर्ड पार्टीले गर्छ। उसले प्रत्येक महिना स्याम्पल पठाउँछ। त्यसलाई हामीले मसिनमा रन गर्छौं, डेटा अनलाइनबाट सबमिट गर्छौं। नेपालका धेरै ल्याबहरुबाट उत्पादन भएको डेटा समेत राखेर थर्ड पार्टीले मिन भ्यालु निकाल्छ। मेरो रिजल्ट अरुसँग कत्तिको फरक आयो भन्ने कुरासमेत हेरेर गुणस्तरीयता कायम गरिन्छ’, डा. श्रेष्ठले भने।  

एक्सटर्नल र इन्टरनल क्वालिटी कन्ट्रोलपछि मात्रै ल्याब रिपोर्ट बिरामीको हातमा पुग्ने गर्छ। कुनै रिपोर्टमा केही अस्वभाविक जस्तो देखियो भने त्यसको अलग्गै म्यानुअल जाँच हुने गरेकोसमेत उनले जानकारी दिए। ‘मसिनले दिएको भ्यालू हरदम चेक भइरहन्छ। यसकारण समेत हामीले लामो समयदेखि लगातार गुणस्तरीयता पूर्ण रुपमा कायम गराउने सफलता पाइरहेका छौँ’, उनले भने। 

नर्भिकको ल्याबमा नमूना परीक्षणका लागि प्रयोग हुने सबै उपकरणहरु एफडिए अप्रुभ र सिए सर्टिफाइड छन्। मसिन ल्याउनेबित्तिकै त्यसलाई चलाएर त्यहाँबाट आउने रिपोर्ट बिरामीलाई दिइन्न। ‘मसिनलाई समेत केही दिनसम्म ट्रायलमा राखेर हेरिन्छ। केही प्यारामिटर्सहरु पूरा गरिन्छ र हामी ढुक्क भएपछि मात्र त्यसलाई पूर्ण सञ्चालनमा ल्याई रिपोर्टहरु बनाउन थाल्छौँ’, डा. श्रेष्ठले भने, ‘क्वालिटी कन्ट्रोलका प्यारामिटरहरु पास नभएसम्म हामी रिपोर्ट नै दिँदैनौँ।’