काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ‘नेप्से कर्मचारी संघको अध्यक्षमा नवराज थापा नियुक्त भएका छन्। 

आज रामशाहपथस्थित नेप्से परिसरमा रहेको सभा हलमा भएको निर्वाचनमा थापा संघको पहिलो अध्यक्षका रुपमा दुई वर्षका लागि निर्वाचित भएका हुन्। शान्तिपूर्ण ढंगमा निर्वाचन अधिकृत गिरीराज दाहाल र श्रम कार्यालय प्रतिनिधि सुलभ श्रेष्ठको उपस्थितिमा उक्त निर्वाचन सम्पन्न भएको हो। 

संघको उपाध्यक्षमा निरज श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। संघको सचिवमा रेशमप्रसाद लामिछाने र कोषाध्यक्षमा सावित्रा केसी निर्वाचित भएका छन्। सदस्यमा मोना भुसाल, कृपा श्रेष्ठ र नितुकुमारी यादव निर्विरोध चयन भएका छन्। 

बिजशालासँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष थापाले नेप्सेको पुनर्संरचना र क्षमता विकास नै आफ्नो प्रमुख अजेन्डा रहेको बताए। ‘नेप्सेको आधुनिक पुनर्संरचना र क्षमता विकास नै मेरो मुख्य अजेन्डा छ’, थापा भन्छन्, ‘त्यसका साथै आमनागरिकको नेप्सेमा अपोनत्व हुने गरी एक्सचेन्जको आईपीओ निष्कासनका लागि आफ्नो भूमिका निर्वाह गर्नेछु।’

अर्को स्टक एक्सचेन्ज चाहिन्छ भन्ने विकल्प हटाई नेप्सेलाई थप प्रतिस्पर्धी बनाउनको लागि आफ्नो स्तरबाट मुख्य भूमिका निर्वाह गर्ने थापाले उल्लेख गरे। ‘त्यसका लागि नेप्सेको क्षमता विकास साथै रणनीतिक साझेदारी पनि उत्तिकै आवश्यक छ’, उनले भने, ‘नेप्सेको कर्मचारीको हकहितमा अवरत्र खट्नेछु।’