काठमाडौं । नबिल बैंकको संचालक समितिको अध्यक्षमा अनुभवी बैंकर उपेन्द्र पौड्याल नियुक्त भएका छन् । 

मंगलबार बसेको बैंक संचालक समितिको बैठकले पदावधि सकिएका अध्यक्ष शम्भूप्रसाद पौड्याललाई विदा गर्दै उपेन्द्र पौड्याललाई अध्यक्ष बनाउने निर्णय गरेको हो । 

२०७४ मंसिर १५ गतेदेखि उनी सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको छ । उनी पछिल्लो समय एसियाप्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधिसमेत रहेका छन् । 

विश्वव्यापी रूपमा फैलिएको यो संस्थाले दिगो बैंकिङ विकास, सुशासन र समुदायको जीवनस्तर रूपान्तरण गर्ने खालका काम गर्दै आएको छ । नेशनल बैंकिङ इन्स्टिच्यूटको निर्देशक रहिसकोका उनी सफल बैंकरसँगै समाजसेवीका रूपमा समेत परिचित छन् । 

तीनदशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका पौड्याल यसअघि एनएमबी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।

सन् १९८६ मा ग्रिण्डलेज बैंक ( हालको स्टाण्डर्ड चार्टर्ड बैंक)बाट बैंकिङ करिअर सुरु गरेका पौड्यालले त्यहाँ १४ वर्ष जिम्मेवारी सम्हालेपछि एनएमबी फाइनान्समा पुगेका थिए । एनएमबीमा उनले १७ वर्ष अनवरत सेवा गरे । 

१४ वर्ष ग्रिण्डलेज बैंक, १७ वर्ष एनएमबी र ३ वर्ष नबिल बैंकसहित उनले ३४ वर्षको बैंकिङ अनुभव बटुलेका छन् । विगतमा आफूले काम गरेका हरेक क्षेत्र तथा बैंकमा आज पनि उनको योगदानको चर्चा हुने गरेको छ । 

होटल क्षेत्रबाट आºनो व्यावसायिक करिअर सुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब ६ वर्ष काम गरेका थिए । त्यही अनुभवका आधारमा उनी हालको स्टयान्डर्ड चार्टर्ड (तत्कालीन नेपाल ग्रिनल्यान्ड बैंक)मा प्रवेश गरे ।

समाज सेवाका विभिन्न क्षेत्रमा समेत संलग्न हुँदै आएका पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष समेत थिए । दशकौंको बैंकिङ अनुभव र दक्षताले उनलाई नबिल बैंकको अध्यक्षसम्म पुर्याएको हो ।

यसैबीच, नबिल बैंक लिमिटेडमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल असोज १७ गते सकिएको छ । शम्भुप्रसाद पौड्याल र दयारामगोपाल अग्रवालको पदावधि सकिएको हो ।

२०७२ बैंशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आएका पौड्यालको पदावधि असोज १७ गते सकिएको छ । नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका पौड्याल सर्वसाधारण शेयरधनीकातर्फबाट २०४२ माघ २७ गते सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका थिए । 

उनको नेतृत्वमा बैंकले हासिल गरेको प्रगति उल्लेखनीय रहेको नवीलले जनाएको छ । ‘यसले उहाँ सक्षम बैंकर रहेको पनि पुष्टि गर्छ ।’ बैंकले एक विज्ञप्तिमार्फत भनेको छ । 

यसैगरी, अग्रवाल करिब २६ वर्षभन्दा बढी बैंकको सञ्चालक रहे ।  उनी पहिलो पटक २०५१ भदौ १५ गते सर्वसाधारण शेयरधनीकातर्फबाट सञ्चालक नियुक्त भएका थिए । त्यसपछि, सन् २०१६ सम्म निरन्तर सञ्चालकमा नियुक्त हुँदै आएका थिए । बैंकलाई आजको अवस्थामा ल्याउन उनको पनि महत्वपूर्ण भूमिका रहेको नवीलले जनाएको छ ।