काठमाण्डौ । नबील बैंकको साधारणसभाले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश र ३० प्रतिशत बोनस दिने संचालक समितिको निर्णय पारित गरेको छ ।

असोज १८ गते सम्पन्न बैंकको ३२ औ वार्षिक साधारणसभाले नगद र सेयर लाभांशको दुवै प्रस्ताव पारित गरेको हो । 

विगत तीन दशकभन्दा बढी निरन्तर सेवाबाट नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित छ । यो बंैकले आर्थिक वर्ष २०७२/७३ मा ४ अर्ब ३५ करोड संचालन मुनाफा आर्जन गरेको थियो, यो वाणिज्य बैंकहरु मध्येकै सबैभन्दा बढी हो । 

यो अवधिमा बैंकले २ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो । यो नाफा अघिल्लो आर्थिक वर्षको भन्द्या ३५ प्रतिशतले बढी हो ।

वाणिज्य बैंकहरुमध्ये आ.व. २०७१/७२ मा समेत सबैभन्दा बढी कर राजश्वमा योगदान पुर्याएबापत बैंकले आन्तिरिक राजस्व बिभागबाट सम्मान प्राप्त गरेको छ । 

यो बैंकको “नेटवर्थ” ११ अर्ब ५९ करोड (प्रस्तावित नगद लाभांश बाहेक) रहेको बैंकले जनाएको छ । 

वार्षिक साधारणसभामा बैंक संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड््यालले बैंकको पूँजी योजनामाथि प्रकाश पार्दै नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ सम्ममा ८ अर्ब पुँजी पुर्याउने योजना अनुसार समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित वोनस शेयर पश्चात बैंकको पूँजी यसै बर्ष रु.६ अरब १८ करोड पुगेको र अर्को बर्ष रु ८ अर्ब पुर्याउने लक्ष्य रहेको बताए । 

सर्वसाधारण शेयरधनि समूह “ग” वर्गको तर्फबाट शम्भुप्रसाद पौड््याल तथा दयाराम गोपाल अग्रवाल र शेयरधनी समूह “ख” वर्ग को तर्फबाट राष्ट्रिय बिमा कम्पनी लिमिटेड निर्विरोध संचालक चयन भएका छन् । 

साधारणसभामा बैंकका शेयरधनीहरु डा. सुन्दरलाल श्रेष्ठ र राजेश शाक्यलाई सम्मान समेत गरिएको सहायक महाप्रबन्धक रमेश लोहनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।