काठमाण्डौ । नवील बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ४ अर्ब ५ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ३ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो । 

बैंकको ४ अर्ब ५ करोड रुपैयाँ नै वितरणयोग्य मुनाफा हो । 

नवील बैंकले व्यवसाय बिस्तारमा विशेष ध्यान दिएर नाफालाई पहिलोपटक ४ अर्ब माथि पुर्याएको हो । बैंकले ६ अर्ब १९ करोड खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ४५ करोडमा सीमित थियो । 

बैंकले ब्याजबाट मात्रै ११ अर्ब ३२ करोड बढी आम्दानी गरेको छ । ५ अर्ब ८ करोड मात्र ब्याज खर्च भएका कारण नवीलको नाफा ह्वात्तै बढेको देखिएको हो । 

बैंकले समीक्षा अवधिमा १ खर्ब ३५ अर्ब निक्षेप संकलन गरी १ खर्ब १२ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १ खर्ब १८ अर्ब निक्षेप संकलन गरी ९१ अर्ब ४९ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले ५ अर्ब ४६ करोडमा सीमित संचालन मुनाफालाई बढाएर ६ अर्ब १९ करोडको उचाई चुमाएको छ ।

अघिल्लो वर्षसम्म ७ अर्ब १६ करोडमा सीमित रिजर्बलाई बढाएर १० अर्बको उचाई चुमाएको बैंकले खराब कर्जा अनुपातलाई समेत ०.८० प्रतिशतबाट घटाएर ०.५५ प्रतिशतमा झार्ने सफलता प्राप्त गरेको छ । 

अघिल्लो वर्ष २.७० प्रतिशत रहेको कस्ट अफ फण्ड बढर ४.७५ प्रतिशत पुगे पनि अन्य बैंकको तुलनामा यो खर्च निकै न्यून हो । 

नवीलको प्रतिसेयर आम्दानी ५०.४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.२७ गुणा, इक्वीटीमा प्रतिफल २४.६७ प्रतिशत तथा सम्पत्तिमा प्रतिफल २.७१ प्रतिशत कायम भएको छ ।