काठमाण्डौ । बैंकिङ उद्योगका दुई जाइन्ट प्लेयर नवील बैंक लिमीटेड र एनआइसी एशिया बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । 

दोश्रो बजारमा सबैभन्दा बढी मूल्य भएको नवील बैंक र त्यसपछि दोश्रो बढी मूल्यमा कारोबार भइरहेको एनआइसी एशिया बैंकको वित्तीय विवरणमा धेरै लगानीकर्ताको चासो देखिएको छ । यी दुई बैंकलाई एकअर्काको प्रतिस्पर्धीको रुपमा हेरिने गरिएको छ । यी दुई बैंकमध्ये तेश्रो त्रैमाससम्मको वित्तीय विवरणमा कसले कस्तो प्रगति गर्यो त ? हेरौं:

वितरणयोग्य मुनाफा
नवील बैंकले समीक्षा अवधिका लागि ३ अर्ब ८० करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यो बैंकको चुक्तापूँजी १३ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । तेश्रो त्रैमाससम्म आर्जन वितरणयोग्य मुनाफा बाँकी रहेको एक त्रैमाससम्म पनि कायम रह्यो भने नवीलले यो वर्ष ३८ प्रतिशत बढी लाभांश बाँड्नसक्ने क्षमता बनाएको छ ।  

एनआइसी एशिया बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोडमा सीमित बन्न पुगेको छ । यो बैंकको चुक्तापूँजी ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । एनआइसी एशियाको यो नाफा चौथो त्रैमाससम्म निरन्तर रह्यो भने बैंकले १५ प्रतिशत हाराहारीको लाभांश क्षमता बनाउने देखिन्छ । 

खूद र संचालन मुनाफा
नवील बैंकले समीक्षा अवधिमा ३ अर्ब ६७ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो मुनाफा ३ अर्ब १५ करोडमा सीमित थियो । यसरी नवील बैंकले खूद नाफातर्फ १६.५० प्रतिशतको बढोत्तरी गरेको देखिन्छ । 

यस्तै, नवील बैंकले समीक्षा अवधिमा ५ अर्ब २४ करोड संचालन मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो मुनाफा ४ अर्ब ५० करोडमा सीमित थियो । यसरी संचालन मुनाफा पनि अघिल्लो वर्षको तुलनामा १६.३७ प्रतिशतले बढेको छ । 

एनआइसी एशियाले समीक्षा अवधिमा ३ अर्ब खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म २ अर्ब ५० करोड खूद नाफा थियो । यसरी बैंकले खूद नाफातर्फ २० प्रतिशतको बढोत्तरी गरेको छ । 

यस्तै, समीक्षा अवधिमा बैंकले ४ अर्ब ३९ करोड संचालन मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ३ अर्ब ६० करोड थियो । यसरी संचालन मुनाफातर्फ एनआइसी एशियाले २२ प्रतिशत हाराहारीको प्रगति गरेको देखिन्छ । 

खूद ब्याज आम्दानी र खर्च
समीक्षा अवधिमा नवील बैंकले ११ अर्ब ८२ करोड ब्याज आम्दानी गरी ६ अर्ब ७३ करोड ब्याज खर्च गरेको छ । बैंकको खूद ब्याज आम्दानी ५ अर्ब ९ करोड छ । ब्याज खर्च केही बढ्दा नवील बैंकको खूद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा सामान्य घटेको देखिएको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खूद ब्याज आम्दानी ५ अर्ब ३७ करोड माथि थियो । 

एनआइसी एशिया बैंकले समीक्षा अवधिमा ब्याज आम्दानीबाट मात्रै १६ अर्ब ७५ करोड कमाएको छ । यो अवधिमा ब्याज खर्च १० अर्ब १६ करोड रहेको छ । एनआइसी एशियाले समीक्षा अवधिमा ६ अर्ब ५८ करोड खूद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको यही अवधिसम्म ५ अर्ब ५२ करोडमा सीमित थियो । 

प्रति सेयर आम्दानी र खराब कर्जा
नवील बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी भनेको अघिल्लो वर्षको तुलनामा घटेको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म नवीलको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ६३ पैसा रहेको छ, जबकि अघिल्लो वर्षको यही अवधिमा ४५ रुपैयाँ ७४ पैसा रहेको थियो । 

नवील बैंकले यो अवधिमा खराब कर्जा समेत घटाउने सफलता पाएको छ । अघिल्लो वर्ष यही अवधिसम्म ०.६३ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर यो वर्ष ०.४८ प्रतिशतमा सीमित बन्न पुगेको छ । 

एनआइसी एशियाको प्रतिसेयर आम्दानी भने झिनो मात्र बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ३४ रुपैयाँ ६८ पैसा रहेको इपीएस झिनो बढेर यो वर्ष ३४ रुपैयाँ ८७ पैसा पुगेको छ । 

अघिल्लो वर्ष ०.७५ प्रतिशत रहेको एनआइसी एशियाको खराब कर्जा अनुपात घटेर ०.४७ प्रतिशतमा सीमित बन्न पुगेको छ । 

निक्षेप र कर्जातर्फको प्रगति
समीक्षा अवधिमा नवील बैंकले २ खर्ब ८ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ८६ अर्ब बढी कर्जा परिचालन गरेको छ । नवील बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेप र कर्जातर्फ क्रमशः ९.१८ प्रतिशत र  २५.७६ प्रतिशतको वृद्धि भएको छ । 

एनआइसी एशियाले समीक्षा अवधिमा २ खर्ब ७५ अर्ब निक्षेप संकलन गरी २ खर्ब ४७ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा एनआइसी एशियाको निक्षेप र कर्जा क्रमशः ३६.५४ प्रतिशत र ५४.५९ प्रतिशतले बढेको देखिएको छ । 

अन्य सूचकहरु
समीक्षा अवधिमा बैंकको रिटेन अर्निङ ३ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ३ अर्ब ५७ करोड रहेको थियो । 

यस्तै, एनआइसी एशियाको रिटेन अर्निंग १ अर्ब २७ करोड मात्र रहेको छ, जुन अघिल्लो वर्ष १ अर्ब ९७ करोडको उचाईमा थियो । 

समीक्षा अवधिमा नवील बैंकको कस्ट अफ फण्ड ४.६८ प्रतिशत, बेस रेट ६.१८ प्रतिशत, सीसीडी रेसियो ८०.८० प्रतिशत रहेको छ । 

एनआइसी एशियाको कस्ट अफ फण्ड ५.०३ प्रतिशत, बेस रेट ६.७७ प्रतिशत, सीडी रेसियो ८४.२१ प्रतिशत कायम भएको छ ।