काठमाण्डौ । सेञ्चुरी बैंकसँगको सम्झौता तोड्दै सेलिब्रेटी बैंकर अनिलकेशरी शाह देशकै टप वाणिज्य बैंकमध्येको एक नवील बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका छन् । 

शाहलाई बिहीबार बसेको बैंक संचालक समितिको बैठकले चारवर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

मेगा बैंकका संस्थापक सीइओ शाहले त्यहाँ जागिर छाडेपछि सेञ्चुरी कमर्सियल बैंकमा पुस १७ गतेदेखि कार्यभार सम्हाल्ने गरी नियुक्तिपत्र बुुझेका थिए । सेञ्चुरी बैंकले उनीमासि मासिक १२ लाख बढी तलब तथा सेवासुविधा दिने गरी सम्झौता गरेको थियो । तर, कान्छो वाणिज्य बैंक सेञ्चुरीको वासलातको क्षमताले ८ लाखको हाराहारीमा मात्रै तलब दिन मिल्ने भन्दै के आधारमा शाहसँग त्यस्तो सम्झौता गरेको भन्दै राष्ट्रबैंकले बैंकलाई पत्र काटेको थियो । बैंकले सम्झौता गरेअनुसारको सेवासुविधा दिन राष्ट्रबैंकको नियमावली अवरोध हुने भएपछि शाह सेञ्चुरी छाडेर नवीलको सीइओ बन्न पुुगेका हुन् । 

तत्कालीन सीइओ सशिन जोशीले राजीनामा दिएपछि नवील समेत सीइओबिहीन थियो । सो क्रममा केही व्यक्तिको चर्चा चले पनि शाहको पक्षमा संचालकहरुको बहुमत जुटेको हो । 

जोशीले फागुन ५ गतेदेखि लागूू हुने गरी राजीनामा दिएका थिए । यसको अर्थ सो मितिदेखि भने बैंकको कमाण्ड शाहले सम्हाल्ने छन् । 

जहाँबाट करिअर सुरु गरे, त्यहीको सीइओ बने
बैंकर शाहले नबिलबाटै बैकिङ करिअर सुरु गरेका हुन् । उनी इन्टर्नको रुपमा सो बैंकमा काम गरेका थिए । त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड(तत्कालीन ग्रीन्डलेज) बै.कमा गएका थिए । त्यहाँबाट उनी महाप्रबन्धकको रुपमा नवील गएका थिए । नवीलको महाप्रबन्धक छँदै नेपाल बैंकले खुलाएको सीइओमा दरखास्त दिएका उनी त्यहाँ भने सफल हुन सकेनन् । नेपाल बैंकमा सीइओ हुन नसकेपछि उनले नैतिकताको आधारमा भन्दै नवील बैंक छाडेका थिए । त्यसपछि स्थापना भएको मेगा बैंकमा उनी संस्थापक सीइओ बनेर काम सुरु गरेका थिए । 

मेगा बैंकमा २ कार्यकाल पूरा गरी उनले त्यहाँबाट विदा लिएका थिए । मेगा बैंक छाडेका उनलाई सेञ्चुरी बैंकले सीइओको अफर गरेको थियो । त्यसलाई स्वीकार गरेर सम्झौता गरे पनि राष्ट्रबैंकको सीइओ तलबसम्बन्धी नियमले रोकेपछि उनी बिलखबन्दमा थिए । तर, यही बीचमा नवीलका सीइओ सशिनले जागिर छाडेपछि उनका लागि विकल्प तयार भएको थियो । 

सेञ्चुरी बैंकलाई आपत
तत्कालीन सीइओ अनुजमणि तिम्सिनाले बैंक छाडेपछि सेञ्चुरी बैंक लामो समयदेखि सीइओबिहीन अवस्थामा छन् । जीवन भट्टराईले नायव सीइओको रुपमा बैंकलाई कुशलतापूर्वक हाँकिरहे पनि फूल सीइओ पाउन भने यो बैंकलाई आपत परेको छ । बैंक स्रोतका अनुसार जीवन भटटराईले नायवकै रुपमा पनि राम्रो काम गरेको भन्दै संचालक समितिले फूल सीइओको अफर गरिसकेका छन्, तर भट्टराईले तत्काल फूल सीइओ खाने मन गरेका छैनन् । भट्टराईले फूल सीइओ बन्न मन नगरेपछि सेञ्चुरीले अनिलकेशरी शाहसँग सम्झौता गरेको थियो । जनवरी १ बाट सेञ्चुरीमा शाह आउने कुरामा ढुक्क रहेको सेञ्चुरी बैंकको संचालक समिति अब बिलखबन्दमा परेको छ । तलबका कारण शाह सेञ्चुरी नआएको म्यासेज गइसकेका कारण अब यो आर्थिक वर्षसम्म सेञ्चुरी बैंकले फूल सीइओ पाउने संभावना न्यून छ । 

‘कि त जीवन भट्टराई नै फूल सीइओको रुपमा आउनुपर्यो ।’ बैंकका एक संचालकले भने–‘उनले तत्काल फूल सीइओको रुपमा आउन मन नगरेकोले नयाँ सीइओ पाउन यो बैंकले यो आर्थिक वर्षको अन्तसम्म कुर्नुपर्ने हुन्छ ।’ 

ती संचालकले फूल सीइओविहीन भए पनि बैंकले गर्ने प्रगतिको रफ्तार भने नघट्ने संकेत देखिएको बताए । ‘भट्टराईले नायव नै भए पनि कुशलतापूर्वक बैंक संचालन गरिरहेका छन् ।’ उनले थपे–‘छोटो अवधिमै उनले कर्जा र निक्षेपतर्फ राम्रो प्रगति गरेका छन् ।’