काठमाण्डौ । सर्वत्र आलोचनापछि नवील बैंक लिमीटेडले एकवर्षे मुद्धती निक्षेपमा अग्रीम ११ प्रतिशत ब्याज दिने गरी ल्याएको स्किम फिर्ता लिएको छ । 

बैंकले ११ प्रतिशत अग्रिम ब्याज भुक्तानी गर्दा निक्षेपकर्ताले पाउने वास्तविक ब्याज साढे १२ प्रतिशतसम्म हुने देखिएको भन्दै बैंकर्स संघका केही सदस्यहरुले यसले बैंकहरुबीचको भद्र सहमति उल्लंघन भएको भन्दै आलोचना गरेका थिए । 

बैंकर्स संघको पहलमा बैंकरहरुबीच केही समयअघि मुद्धती निक्षेपमा ११ प्रतिशत र साधारण बचतमा ८ प्रतिशत भन्दा बढी ब्याज नदिने सहमति भएको थियो । 

एनआइसी एशियाले मुद्धतीमा १२ र साधारण बचतमा ८ प्रतिशत ब्याजसहितको स्किम ल्याउँदा त्यसविरुद्ध एकमुख भएर लागेका बैंकरहरु नवीलले घुमाउरो ढंगले सहमति उल्लंघन गर्न खोजेको भन्दै त्यो फिर्ता गराउने दवाब सिर्जना गर्नतर्फ लागेका थिए । 

केही समयसम्म आफ्नो स्किमलाई सान्दर्भिक भन्ने जिकिर गर्दै अग्रीम ब्याज भुक्तानीको अफरलाई जारी राखेको नवीलले शुक्रबार भने औपचारिक रुपमै त्यसलाई स्थगन गर्दै नवील बम्पर फिक्स्ड डिपोजिट १ को नयाँ स्किम सार्वजनिक गरेको हो । 

यो स्किममा ११ प्रतिशत ब्याजको अफर गरिएको छ । पहिलाको अग्रीम ब्याज भुक्तानीको व्यवस्थालाई परिवर्तन गर्दै नवीलले यो स्किममा प्रत्येक महिना ब्याज दिने घोषणा समेत गरेको छ । मुद्धती निक्षेपको यो योजनामा सहभागी हुन निक्षेपको कुनै सीमा तोकिएको छैन भने निक्षेपकर्ताले न्यूनतम १ देखि अधिकतम २ वर्षसम्मका लागि निक्षेप जम्मा गर्न सक्नेछ । बैंकले मुद्धती निक्षेपमा पैसा राख्नेहरुलाई योजना परिपक्व हुनुुअघि नै कुनै समस्या भई पैसाको आवश्यकता परे निक्षेपको ८० प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था समेत थप गरेको छ ।