काठमाण्डौ । नवील बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आफ्नो चौथो म्युचुअल फण्डका इकाईहरुको बिक्री खुल्ला गरेको छ । 

कम्पनीले नवील ब्यालेन्स्ड फण्ड ३ नामको आफ्नो चौथो म्युचुअल फण्डका इकाई निश्कासन गरेको हो । यो १० वर्षे अवधिको बन्दमुखी म्युचुअल फण्ड हो । 

प्रति इकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाईको सार्वजनिक निश्कासन भएको हो । यो फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ । 

इकाईको निश्कासन आजदेखि भएकोमा छिटोमा भदौ २९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । सो अवधिसम्म पनि निश्कासन भएका इकाईहरु बिक्री नभए ढिलोमा असोज ८ गतेसम्म आवेदन खुल्न सक्नेछ । 

कम्पनीले निष्काशन गरेको कुल इकाईमध्ये कोष प्रवद्र्धक नबिल बैंकलाई १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ भने १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी रहेको ८ करोड ५० लाख इकाई खरीदका लागि आवेदन दिन सक्नेछन् ।

धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सबै बैंक तथा बित्तीय संस्थाबाट वा मेरो सेयरबाट समेत इच्छुकले इकाई खरीदका लागि आवेदन दिन सक्नेछन् ।