काठमाण्डौ । नवील बैंक र एनसीसी बैंकबीच मर्जरको हल्ला नेप्सेले एनसीसीलाई स्पष्टीकरण सोधेपछि केही सेलाएको छ । 

नवील बैंकका ठूला संस्थापक सेयरधनी चौधरी ग्रुपका सदस्यहरुले एनसीसी बैंकको ठूलो परिमाणको सेयर दोश्रो बजारबाट उठाएपछि एनसीसी साच्चिकै नवीलमा जान लाग्यो भनेर ठान्नेहरुको पनि कमी देखिन्न । एनसीसी नवीलमा मर्ज हुनै लागेको खबरभित्रको  वास्तविकता के होला त ? साच्चिकै नवीलले एनसीसीलाई प्राप्ति गर्न लागेकै हो त ? 

चौधरी ग्रुप निकट उच्च स्रोतहरुलाई आधार मान्ने हो भने नवीलले एनसीसीलाई मात्र प्राप्ति गर्ने तर्कमा उति धेरै दम छैन । उसो भए वास्तविकता के हो त ? स्रोत भन्छ–‘नवीलले एनसीसीसँगै अर्को एउटा फाइनान्स कम्पनीलाई पनि लिने प्रयास गरिरहेको छ । तीनवटा संस्थाहरुको एकैपटक मर्ज हुने हो भने एनसीसी नवीलमा मिसिन्छ, नभए बाँकी कुरा सबै हल्ला मात्र हुन् ।’ 

स्रोतहरुका अनुसार चौधरी ग्रुपकै ठूलो लगानी रहेको यूनाइटेड फाइनान्सको मूल्य पछिल्लो समय बढिरहनुको मुख्य कारण पनि यही तर्कले गर्दा हो । अर्थात, नवीलले एकैपटक एनसीसी बैंक र यूनाइटेड फाइनान्सलाई प्राप्तिको रणनीति अख्तियार गर्न सक्छ । ‘यसका लागि केही प्रयास पनि भइरहेका छन् ।’ स्रोत भन्छ–‘तर, बजारमा आएजस्तो सबै कुरा फाइनल भइसकेको अवस्था भने होइन ।’ 

चौधरी ग्रुप निकट विश्लेषकहरुको तर्कमा नवीलले यूनाइटेड फाइनान्सलाई मात्रै प्राप्ति गर्ने संभावना पनि छैन । तर, एनसीसीसँगै प्राप्ति गर्ने नवीलका प्रमोटरहरुको प्रयास भने जारी रहेको छ । यही प्रयास स्वरुप पछिल्लो समय दोश्रो बजारमा एनसीसी बैंकको सेयरमूल्य भन्दा यूनाइटेड फाइनान्सको सेयरमूल्य माथि पुर्याइएको छ । उच्च स्रोत दाबी गर्छ–‘यी सबै परिदृश्य हेर्दा र विश्लेषण गर्दा नवील बैंकले भविष्यमा एनसीसी बैंक र यूनाइटेड फाइनान्सलाई नै प्राप्तिको एकैपटक एमओयू गर्यो भने अचम्म नमान्दा हुन्छ ।’

चौधरी ग्रुपका परिवारका सदस्यहरुको बढी लगानी रहेको यूनाइटेड फाइनान्स अन्य कुनै कम्पनीसँग मर्जमा जाने संभावना छैन । यो फाइनान्स कम्पनी मर्जमै जानु पर्दा नवीलबाहेक अरुसँग जाने कुरा कल्पनाभन्दा बाहिरको कुरा हुने स्रोत बताउँछ । तर, यूनाइटेडलाई मात्र लिने पक्षमा नवील छैन । यूनाइटेडसँगै एनसीसीलाई पनि लिएर व्यापारको साइज ठूलो बनाई आक्रामक ढंगले अगाडि बढ्ने र देशको नम्बर वान बैंकको रुपमा बनिरहने नवीलका संचालकहरुको रणनीति छ । 

भाँडिनसक्छ संभावित मर्जर !
यदि भविष्यमा यूनाइटेड फाइनान्ससँगै नवीलले एनसीसीसँग पनि प्राप्तिको सम्झौता गर्यो भने केही दिनअघि सेयर किन्ने चौधरी ग्रुपका सदस्यहरु इन्साइडर ट्रेडिङको कारबाहीमा पर्न सक्छन् । किनभने विनोद चौधरीका परिवारका सदस्यहरुले दोश्रो बजारबाट एनसीसी बैंकको निकै ठूलो कित्ता सेयर उठाएका छन् । मर्जरको संभावना देखेरै त्यसरी एनसीसीको सेयर ठूलो परिमाणमा उठाइएको हो भने भोलि एमओयू हुँदा सेयर खरीद गर्ने चौधरी परिवारका सदस्यहरुले इन्साइडर ट्रेडिङ गरेको पुष्टि हुन्छ । ‘भोलिको दिनमा कारबाही भोग्नुपर्ने अवस्था रह्यो भने सकारात्मक दिशामा अगाडि बढेको एनसीसी बैंकसँगको मर्जरको विषय त्यत्तिकै सेलाउन पनि सक्छ ।’ स्रोत भन्छ–‘त्यस्तो अवस्थामा यूनाइटेड फाइनान्स पनि कतै जाँदैन भने एनसीसीले पनि आफ्नो अर्को मर्जर पार्टनर खोज्नुपर्ने आवश्यकता हुनेछ।’