काठमाण्डौ । नेपाल राष्ट्रबैंकको अन्तिम स्वीकृतिको प्रतिक्षामा रहेकै बेला कर्मचारी समायोजनमा अन्याय परेको विषय चर्किएपछि अन्तिम अवस्थामा नवील–एनबी बैंक मर्जर भाँडिने सम्भावना बढेको छ । 

नवील बैंक र एनबी बैंकबीच मर्जरका क्रममा मर्जरपछि एनबी बैंकका कर्मचारीहरुको २ तहसम्म घटुवा गर्ने गरी भएको सहमतिमा नेपाल राष्ट्रबैंकले आपत्ति जनाएपछि अवस्था बिग्रिएको हो । 

नवीलले एनबीलाई गाभ्दै गर्दा कर्मचारीहरुको मनोबल गिर्ने गरी सहमति भएको, सो सहमतिको आगो अरु बैंकको मर्जर प्रक्रियामा पनि फैलिने र त्यसले ठूला बैंकले साना बैंक लिँदा समग्र बैंकिङ कर्मचारीकै अहित हुने अवस्था आएको भन्दै १७ वटा बढी वाणिज्य बैंकका कर्मचारी युनियनहरुले राष्ट्रबैंकमा लिखित रुपमै विरोध जनाएका थिए । कर्मचारीहरुको व्यापक विरोधपछि नेपाल राष्ट्रबैंक नेतृत्वले एनबी बैंकका कर्मचारीहरुलाई अन्याय भएको ठहर गर्दै न्याय हुने गरी नयाँ सहमति गर्न, यदि त्यसो नभए मर्जरको अन्तिम स्वीकृति नदिने अडान लिएपछि कुरा बिग्रिएको हो । 

राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी आफैं अगाडि सरेर एनबी बैंकका कर्मचारीलाई अन्याय हुने गरी भएको सहमति आफूहरुले नमान्ने र त्यस विषयमा नयाँ सहमति नबनेसम्म मर्जरका लागि अन्तिम स्वीकृति पनि नदिने अडान लिएका छन् । 

उनले कर्मचारीको पक्षमा अडान लिएपछि नयाँ सहमति गर्ने गरी केही दिनअघि एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र नवील बैंकका सञ्चालक समितिका उपाध्यक्ष निर्वाण चौधरीले गभर्नरलाई भेटेका थिए । गभर्नरले सो भेटमा एनबी बैंकका कर्मचारीहरुको २ तहसम्म घटुवा गर्ने सहमतिप्रति आपत्ति जनाएका थिए । सो सहमतिअनुसार अगाडि बढ्न नसकिने र नयाँ सहमति गर्नु भनी उनले सो क्रममा आग्रह गरेका थिए । सोही भेटमा एनबी बैंकका कर्मचारीलाई कुनै अन्याय नहुने गरी नयाँ सहमति गर्ने सहमति भएको थियो ।

गभर्नरको समेत उपस्थितिमा एनबी बैंकका कर्र्मचारी नवीलसँग मर्जरपछि हालको लेभलबाट घटुवा नहुने सहमति बनेको थियो । 

यस्तै, नयाँ सहमतिपछि एनबी बैंक व्यवस्थापनले स्वेच्छिक अवकाशको योजनालाई थप आकर्षक बनाई पुनः सर्कुलर जारी गरेको थियो । नयाँ सर्कुलरअनुसार एक्जूकेटिभल लेभलका कर्मचारीले भीआरएस रोज्दा १८ महिना बराबरको तलब पाउने, मेनेजर लेभलकोले २१ महिना, अफिसर लेभललाई २१, असिस्टेन्ट लेभललाई २४ र सवओर्डिनेट लेभल २७ महिना बराबरको तलब दिएर विदा गरिने उल्लेख थियो ।

विनोद चौधरी असन्तुष्ट
नवील बैंकका मुख्य लगानीकर्ता विनोद चौधरी पछिल्लो सहमतिप्रति असन्तुष्ट देखिएका छन् । उनले एउटै विषयमा पटक–पटक सहमति गर्न नसकिने र सहमतिको बुँदा संसोधन पनि नहुने भन्दै असन्तुष्टि राख्दै आएका थिए । उनको असन्तुष्टिकै बीच राष्ट्रबैंकले मर्जरको फाइनल अप्रूभल अड्काइदिएपछि आफ्ना छोरा तथा बैंकका उपाध्यक्ष निर्वाण चौधरीलाई गभर्नर भेट्न पठाएका थिए । निर्वाणको साथमा ज्ञानेन्द्र ढुंगाना पनि गभर्नरलाई भेट्न पुगेका थिए । गभर्नरले आफूप्रतिकूल कुरा गरी सोही खालको सहमति गर्न लगाएपछि उनी असन्तुष्ट बनेका हुन् । यही कारण विनोद चौधरीले त्यसपछि नवील बैंकको उच्च व्यवस्थापनसँग हुने छलफल र भेटमा ‘जारी मर्जर सफल नहुन पनि सक्छ’ भन्ने आशयका कुराहरु गर्न थालेका थिए । 

चौधरीले नवील बैंकबाट विदा भएका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहका लागि फेयरवेल पार्टी भिभान्ता होटलमा आयोजना गर्दै त्यसमा समेत एनबीसँगको मर्जर भाँडिनसक्ने संकेत गरेका थिए । ‘अनिल शाहलाई फेरि पनि नवील नै आउनुपर्ने हुनसक्छ’ भन्ने आशयको कुरा गर्दै विनोद चौधरीले गभर्नरको दवाबमा बनेको नयाँ सहमतिप्रति प्रष्ट असन्तुष्टि व्यक्त गरेका थिए । 

नवील बैंकका कर्मचारीको विरोध
यता, एनबी बैंकका कर्मचारीलाई समेत लेभल नघट्ने गरी मर्जरपछि समायोजन गर्ने नयाँ सहमतिप्रति नवील बैंकका कर्मचारीहरुले भने विरोध जनाएका छन् । नवील बैंक कर्मचारी संघले बैंकका सीइओलाई असार ६ गते एक पत्र लेख्दै नयाँ सहमतिप्रति विरोध जनाएको हो । 

अध्यक्ष सविन भट्टराईले लेखेको पत्रमा नवील बैंकका कर्मचारीहरु एनबी प्राप्तिपछि पुरस्कृत हुने र व्यवस्थापनबाट थप हौसला प्राप्त हुने आशमा रहे पनि उल्टो मनोबल गिर्ने गरी नयाँ सहमति भएको भन्दै त्यो आफूहरुलाई मान्य नहुने प्रष्ट पारेका छन् । 

बैंकिङ क्षेत्रमा लामो समयदेखि अग्रणी स्थानमा रहेका नवीलका कर्मचारीहरु सोसरह एनबीका कर्मचारीलाई पनि पद दिने सहमतिप्रति संघले आक्रोश व्यक्त गरेको छ । यसले नवीलका कर्मचारीको मनोबल गिर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । 

‘जतिसुकै प्रगतिशील कुराको दुहाई दिए पनि के पाकिस्तानको जनशक्तिको कार्यदक्षताको मिलान जापानको जनशक्तिको कार्यदक्षतासँग तुलना गर्न मिल्छ ?’ सीइओलाई लेखिएको पत्रमा प्रश्न गरिएको छ । 

नवील बैंक कर्मचारी संघले हाल फाइल बढुवाको रोलक्रममा रहेका, ग्रेडको सीमा छोइसकेका कर्मचारीको हकमा २ तह र अन्यको हकमा १ तह स्वतः बढुवा गरी न्यायिक र भावनात्मक रुपमा यथोचित सम्बोधन गर्न कडा आग्रह गरेको छ । 

संघले आफ्ना माग पूरा नभए तत्काल आन्दोलन थाल्ने समेत चेतावनी दिएको छ । 

नवीलको कर्मचारी संघले आफ्ना सीइओलाई लेखेको पत्र एनबीका कर्मचारीहरुमा भूसको आगो झै फैलिएको पाइएको छ । एनबीका कर्मचारीहरुले सो पत्र हेरेर आफूलाई नवीलका कर्मचारीले हेपेको भन्दै आक्रोश व्यक्त गर्न थालेका छन् । ‘नवीलका साथीहरुले हामीलाई कुन दृष्टिकोणबाट हेर्नुहुँदो रहेछ भन्ने देखियो, अब त भोलि मर्जर नै भइहाल्यो भने पनि काम गर्ने वातावरण रहँदैन । आपसी सद्भाव नरहने भो ।’ एनबी बैंकका एक शाखा प्रबन्धकले बिजशालासँग भने–‘हामी पनि वाणिज्य बैंककै कर्मचारी हौं । यो कुरा कसैले भूल्न भएन ।’

नवीलको पत्रका बाहिरिएसँगै अहिले एनबी बैंकका कर्मचारीहरु आपसमा अभिवादन गर्दा ‘मालेकुमसलाम’ भन्न थालेका छन् । ‘हामीलाई साथीहरुले पाकिस्तानी बनाइदिएपछि के गर्ने त ?’ एनबीका एक कर्मचारीले भने ।