काठमाण्डौ । विजिनेश ग्रोथ, नाफा तथा लाभांश क्षमताको हिसाबले लगातार आफूलाई नम्बर वान बैंकको रुपमा उभ्याइरहेको नवील बैंकले सेयर बजारमा पनि महत्वपूर्ण सफलता प्राप्त गरेको छ । 

निजी क्षेत्रबाट संचालित सबैभन्दा बलियो बैंकको पहिचान बनाएको नवीलको कुल बजार पूँजीकरण सूचीकृत कम्पनीमध्ये सबैभन्दा बढी कायम भएको हो । 

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुमध्ये नवील बैंकको बजार पूँजीकरण सबैभन्दा बढी अर्थात १ खर्ब ९६ अर्ब पुगेको छ । 

दोश्रो बजारमा कारोबार हुने कम्पनीहरुमा बजार पूँजीकरणको हिसाबले नवील बैंक पहिलोपटक नम्बर वानको पोजिसनमा पुगेको हो । यसअघि यो बैंक लामो समयसम्म बजार पूँजीकरणमा दोश्रो पोजिसनमा टिकिरहेको थियो । त्यसअघि नवीलको बजार पूँजीकरणको स्थान केही तल थियो ।

नवील बैंकको विजिनेश ग्रोथ, लाभांश क्षमता र इतिहास लगायतका सकारात्मक सूचकहरुका कारण पछिल्लो समय सेयर बजारका लगानीकर्ताहरुको आकर्षण बढ्दै गएको छ । नवील बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढेकै कारण यो कम्पनीको दोश्रो बजार कारोबार मूल्य समेत लगातार बढिरहेको छ । पछिल्लो समय बजार बन्द हुँदासम्म नवील बैंकको सेयरको अन्तिम बिक्रीमूल्य प्रतिकित्ता रु. १४५९ रहेको छ । दोश्रो बजारमूल्य लगातार बढेर नवील बैंकले सेयर बजारमा समेत सबैभन्दा बढी बजार पूँजीकरण भएको कम्पनीको रुपमा नयाँ इतिहास रचेको हो ।  

हाल नवील बैंकको दोश्रो बजारमा १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता सेयर सूचीकृत छ । 

नवील बैंकपछि बजार पूँजीकरणको हिसाबले दोश्रो स्थानमा नेपाल दूरसंचार कम्पनी लिमीटेड रहेको छ । जसको बजार पूँजीकरण १ खर्ब ९४ अर्ब रहेको छ । नवीलले लामो समयदेखि बजार पूँजीकरणमा पहिलो स्थानमा रहेको दूरसंचार कम्पनीलाई उछिनेको हो ।

नेपाल पुनर्बीमा कम्पनी १ खर्ब ६१ अर्ब बजार पूँजीकरणसहित यो सूचीको तेश्रो स्थानमा छ ।  

बजार पूँजीकरणको हिसाबले चौथो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यो कम्पनीको कुल बजार पूँजीकरण १ खर्ब ४१ अर्ब पुगेको छ ।

नागरिक लगानीकोष १ खर्ब २१ अर्बसहित बजार पूँजीकरणको सूचीमा पाँचौ स्थानमा रहेको छ । 

दोश्रो बजार मूल्यमा नवील बैंकलाई पछ्याउने प्रयासमा रहेको एनआइसी एशिया बैंकको कुल बजार पूँजीकरण १ खर्ब १९ अर्ब मात्र रहेको छ । यस्तै, पूँजीको हिसाबले ठूलो बैंक ग्लोबल आइएमईको कुल बजार पूँजीकरण १ खर्ब २ अर्ब मात्र छ ।