काठमाण्डौ । नवील बैंक र यूनाइटेड फाइनान्सबीच मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

केहीबेरअघि नवील बैंकले यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

नवील बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

नवील बैंकको मुख्य कार्यालयमा आयोजित कार्यक्रमबीच एमओयूमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भएको यूनाइटेड फाइनान्सका संचालक तथा मर्जर कमिटीका सदस्य मनिष खेम्काले जानकारी दिए । 

स्रोतका अनुसार नवीलले यूनाइटेड फाइनान्सलाई ३५ रुपैयाँको दरले प्राप्ति गर्ने समझदारी बनेको हो । यसको अर्थ यूनाइटेड फाइनान्सको १०० कित्ता सेयर हुनेहरुले प्राप्तिपछि नवील बैंकको ३५ कित्ता सेयर पाउनेछन् । 

यूनाइटेड फाइनान्स प्राप्तिपछि नवील बैंकको प्रमुख कार्यकारी अधिकृत र सबै संचालक अहिलेकै कायम रहने समेत समझदारी बनेको छ ।