काठमाण्डौ । लामो समय विवादित बनेका अनिलकेशरी शाहलाई कुलिङ पिरियड व्यथित भएसँगै नवील बैंकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । 

नेपाल राष्ट्रबैंकले एउटा बैंक तथा बित्तीय संस्थाको कार्यकारी प्रमुख सो संस्था छाडेको ६ महिनापछि मात्र अर्को संस्थाको कार्यकारी प्रमुख हुन पाउने कुलिङ पिरियड सम्बन्धी व्यवस्था कार्यान्वयन गरे पनि शाहलाई चोर बाटोबाट नवील बैंकको निमित्त सीइओ नियुक्त गरिएको थियो । कुलिङ पिरियडसम्बन्धी व्यवस्थाको छिद्रबाट शाहलाई सीइओ बनाइएपछि त्यसको सर्वत्र आलोचना भएको थियो । यहीकारण शाह निकै ठूलो विवादमा समेत परे । 

विवादका बीच बैंकको कायममुकाय सीइओको रुपमा काम गर्दै आएका शाहलाई असार ७ गते बसेको ४८८ औं संचालक समितिको बैठकले असार ७ गतेदेखि नै लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । 

नवील बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सशीन जोशीले जागिर छाडेपछि बैंकर शाह सेञ्चुरी बैंकसँगको सम्झौता समेत तोडेर नवीलमा सीइओ हुन पुगेका थिए । 

शाह स्वयम्ले भने मेगा बैंक लिमीटेडमा २ कार्यकाल प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरी त्यसपछि सेञ्चुरी बैंकको सीइओको रुपमा जान तयार भएका थिए । तर, बैंकले उपलब्ध गराउने सेवासुविधाको बिषयमा असन्तुष्टि भएपछि उनले नवील बैंकको अफर स्वीकार गरेका थिए ।