-अनन्त्य सुन्दर/अर्जुन तिमिल्सिना
काठमाण्डौ । बजार निरन्तर घटिरहेको समयमा नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुको मूल्यमा गिरावट आइसकेको छ । कतिपयको मूल्यमा भीषण पहिरो गइसकेको छ भने कतिपयको गिरावट त्यति कहालीलाग्दो छैन । 

घट्दो बजारलाई खरीदको अवसरको रुपमा पनि हेर्ने गरिन्छ । तर, अवसर आयो भन्दैमा मूल्य घटेकै कारण वित्तीय अवस्था कमजोर भएका वा भविष्यमा खासै रिटर्न दिन नसक्ने कम्पनीमा आँखा चिम्लिएर लगानी गर्नु बुद्धिमता हुँदैन । नेपालको सेयर बजारमा केही कम्पनी यस्ता छन्, जसलाई बेलैमा चिनियो भने नसोचेको रिटर्न पनि पाउन सकिन्छ । 

नेप्सेमा सूचीकृत निकै कम संख्याका ब्लुचिप कम्पनीमध्ये नवील बैंक पनि एउटा हो । बैंकिङ इण्डेक्सबाट प्रभावित बजारमा पछिल्लो समय नवील बैंकमा आकर्षण बढ्न थालेको छ । तर, लगानीकर्ताहरुले अझै पनि नवील बैंकको विषयमा गम्भीरतापूर्वक नसोचेको हो कि भन्ने देखिने विश्लेषक बताउँछन् । कारण, धेरैलाई नवील बैंकले नेपाल बंगलादेश बैंकलाई मर्ज गरेपछि लोभलाग्दो प्रतिफलको विरासत जोगाउन नसक्ला कि भन्ने आशंका परेको देखिन्छ । 

आफ्ना सेयरधनीलाई लगातार निकै आकर्षक रिटर्न दिंदै आएको नवील बैंक एनबीलाई मर्ज गरेपछि पनि ब्लु चिप कम्पनीकै रुपमा रहला त ? रिटर्नको लोभलाग्दो विरासत जोगाउला ?

नबिल बैंकको १ वर्षको कारोबार सेयरमूल्य हेर्दा अधिकतम १७४० रुपैयाँ र न्यूनतम ९६० रुपैयाँमा कारोबार भएको छ। 

अहिले नवील बैंकको सेयर प्रतिकित्ता ९६० रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ । विश्लेषकहरुले १ हजारभन्दा कम मूल्यमा नवील बैंकको सेयर किन्न पाउनु ‘अवसर’ भएको दाबी गरेका छन् । हाल नबिल बैंकको सेयर १ वर्षयताको नै न्यूनतम मूल्यमा कारोबार हुँदैछ। यो सेयर बजारमा प्रवेश गर्नेहरुका लागि सुवर्ण अवसर पनि बन्नसक्छ ।

राजनीतिक अस्थिरता, तरलताको चाप, बढ्दो ब्याजदरलगायतको असरले ब्लु चिप मानिएको नबिल बैंकको सेयरमूल्यमा पनि उच्च गिरावट आएको जानकार बताउँछन्। 

बजारका जानकार नयन बास्तोला लाभांश इतिहासका साथै ईपीएस, ग्रोथ, नेटवर्थ, गुड्विल, आरओईलगायत अन्य वित्तीय अवस्था राम्रो भएकाले नबिल बैंक ब्लु चिप हो । यो ब्लु चिपकै रुपमा रहने समेत उनको दाबी छ । ‘वित्तीय अवस्थाले राम्रो भए पनि नबिल बैंकको सेयरमूल्य कम भएकाले पनि यसलाई ब्लु चिप भनिएको हो’, उनले भने, ‘नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई मर्ज गर्ने प्रक्रिया अघि बढेसँगै लगानीकर्ताले लगानी गर्नुअघि नेपाल बंगलादेश बैंकको सञ्चालक समिति, ईपीएस, नाफा, एनपीएललगायत अन्य वित्तीय अवस्थाबारे अध्ययन गर्नुपर्छ।’ 

मर्जर पछि नबिलको पेड अफ क्यापिटलका साथै सप्लाई बढ्ने भएकाले लगानी गर्नुअघि लगानीकर्ताहरुले यो पक्ष पनि हेर्नुपर्ने बास्तोला बताउँछन्। मर्जरपछि कायम हुने वित्तीय सूचकहरुको विश्लेषण गर्दा नवील बैंक लगानीको राम्रो विकल्प हुनसक्ने देखिएको बास्तोलाको दाबी छ । बंगलादेश बैंकलाई गाभेपछि पनि नवील ब्लु चिपकै रुपमा रहने उनको बुझाई छ । 

मर्जरपछिको नवील बैंक
गत पुस २९ गते नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्रतिसेयर ४३ रुपैयाँको दरले प्राप्ति निर्णयको एमओयू हस्ताक्षरसँगै नबिल बैंक वाणिज्य बैंकहरुमध्येको नै ठूलो बैंक हुनेछ। बिग मर्जरपछि नबिलको ३३.६ प्रतिशत र बंगलादेशको १२ प्रतिशत बोनससहित बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड हुने छ। त्यस्तै मर्जरपछि कुल २३४ ठाउँमा शाखामा २ हजार बढी कर्मचारी कार्यरत हुनेछन् भने बैंकको ग्राहकको संख्या झन्डै १६ लाख हाराहारी हुनेछ।

लाभांशको विरासत जोगाउला ?
सन् १९८४ मा स्थापित नबिल बैंकले लगानीकर्तालाई निरन्तर उच्च लाभांश वितरण गर्दै आएको छ। सन् २०११ मा लगानीकर्तालाई ३० प्रतिशत लाभांश वितरण गरेको नबिल बैंकले सन् २०१३ र २०१४ मा दुईपटक निरन्तर अहिलेसम्मको नै उच्चतम ६५ प्रतिशत लाभांश वितरण गरेको थियो।

नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीका अनुसार बैंकको लाभांशका साथै ईपीएस विगतको झैँ मेन्टेन हुने बताउँछन्। ‘दोस्रो त्रैमासिक रिपोर्टमा नबिल बैंकको ईपीएस २३.५९ रुपैयाँ छ। त्यस्तै बंगलादेश बैंकको पनि १६.०९ रुपैयाँ छ’, ज्ञवाली भन्छन्, ‘बंगलादेश बैंकको १०० रुपैयाँको सेयर ४३ रुपैयाँमा आउँदा बंगलादेशको मात्र ईपीएस ५० –५२ रुपैयाँ पुग्छ।’

‘सेयर स्वाप रेसियो १० अर्बको ४३ प्रतिशतमात्र वितरण गर्दा पनि ५.५ अर्ब रुपैयाँ प्लस वितरणयोग्य नाफा हुन्छ। त्यसैले मर्जर पछि पनि बैंकलाई विगतको झैँ ईपीएस र डीपिएस मेन्टेन गर्न खासै गाह्रो हुन्न ।’ ज्ञवालीले भने। 

गत आर्थिक वर्षको नाफाबाट नबिल बैंकले लगानीकर्तालाई ३३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांश गरी ३८ प्रतिशत लाभांश वितरण गरिसकेको छ।

नबिल बैंकको ६० प्रतिशत सेयर हिस्सा प्रमोटरसँग र बाँकी ४० प्रतिशत भने सर्वसाधारणलाई निष्कासन गरिएको छ। बैंकको हाल १.७९ खर्ब रुपैयाँ बजार पुँजीकरण रहेको छ।

बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक रिपोर्ट अनुसार पुस मसान्तसम्म खुद नाफा २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्ष सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब १ करोड ६० लाख २३ हजार रुपैयाँ रहेको थियो। अर्थात् बैंकको खुद नाफा गत आवको तुलनामा ८.२० प्रतिशतले वृद्धि भएको छ। बैंकको ईपीएस भने २९.९९ रुपैयाँबाट ६.४ रुपैयाँ घटेर २३.५९ रुपैयाँ भएको छ। इपीएस तेश्रो र चौथो त्रैमासमा बढ्नसक्ने प्रशस्त आधारहरु देखिन्छन् । दोस्रो त्रैमासिक रिपोर्टका अनुसार ८९.४९ सीडी रेसियो भएको नबिल बैंकको एनपीएल अनुपात १.११ प्रतिशत छ। 

नेतृत्व र सेवा
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल केशरी शाह छन्। शाहलाई नेपाली बैंकिङ जगतको नै योग्य, क्षमतावान र जानकार सीईओ मानिन्छ। सन् २००५ मा नबिल बैंकको सीईओ र सन् २००९ मा मेगा बैंकको सीईओ भएका शाहलाई सन् २०१८ मा पुनः नबिल बैंकको सीईओमा नियुक्ति गरिएको थियो।

कम्पनीको अध्यक्षमा उपेन्द्रप्रसाद पौडेल, उपाध्यक्षमा निर्वाण चौधरी, महाप्रबन्धकमा मनोज ज्ञवाली, उपप्रमुख कार्यकारी अधिकृतमा सुजितकुमार शाक्य र विनयकुमार रेग्मी कार्यरत छन्। नबिल बैंकको हालको नेतृत्वलाई नेपाली बैंकिङ जगतको नै कुशल नेतृत्व पनि मानिन्छ।

नबिल बैंकले प्रदान गर्दै आएको सेवा सुविधा अन्य वाणिज्य बैंकहरुको तुलनामा नै उत्कृष्ट मानिने गरिएको छ। बैंकले अहिले ग्राहकलाई कार्डमा नबिल भिसा कार्ड, नबिल एफडी कार्ड, नबिल मास्टर कार्ड, नबिल आई कार्डलगायतको सुविधा दिँदै आएको छ। त्यसका साथै बैंकले ग्राहकलाई नबिल स्मार्ट बैंक, नबिल नेट, नबिल भाइबर बैंकिंग, नबिल फोनपेलोन, कनेक्ट आइपिएस, ग्रिन पिन, नबिल अनलाइनलगायतको सेवा पनि दिँदै आएको छ।

बैंकले सीएसआरमा ३७ औँ वार्षिक उत्सवमा वीर अस्पताललाई अक्सिजन प्लान्ट वितरण गरेको थियो। बैंकिङ तथा सचेतना मूलक कार्यक्रम सञ्चालन, विपत्तिको बेला आवश्यक सहयोग, नबिल स्कुल अफ सोसियल इन्टरपेनरसिपलगायतको कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।

प्राविधिक विश्लेषण
नबिल बैंकको सेयरभाउलाई बोलिङ्गर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएर इन्भर्टेड ह्याम्मर आकृति बनेको छ। (हेर्नुहोस हरियो एरो)


यदि लामो समयको करेक्सनपछि यस्तो आकृति न्यून विन्दुमा बन्छ भने यसले टे«न्ड रिभर्सलको संकेत गर्छ। यस्तो आकृति यदि बढ्दो बजारमा बनेको खण्डमा घट्ने र घट्दो बजारमा बनेको खण्डमा कम्पनीको सेयरभाउ बढ्ने हुन्छ। यो हिसाबले नबिल बैंकको सेयरभाउ आगामी दिनमा बढ्ने देखिन्छ। 

एमएसीडीअन्तर्गत भने हिस्टोग्राम नेगेटिभ नै रहेका छन्। बुलिस क्रसओभर बनिसकेको छैन। 

आरएसआईअन्तगर्त न्यून विन्दु २२ को तह अर्थात ओभर सोल्ड जोनमा पुगेर हुक बनाएर माथि फर्केको छ। यसले अब विस्तारै नबिल बैंकको सेयरभाउ घट्ने क्रम रोकिएको र बढोत्तरीमा जाँदै गरेको संकेत गर्छ।