काठमाण्डौ । गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने पहिलो बैंक मात्र नभई वार्षिक साधारणसभाबाट सो सम्बन्धी प्रस्ताव समेत पारित गरी सिटिजन्स बैंक इन्टरनेशनलले आज(शुक्रबार) नयाँ रेकर्ड बनाउँदैछ । सिटिजन्स बैंकले लाभांश घोषणा गरी पारित नै गर्ने अवस्था बनिसक्दा पनि सेयर बजारमा बहुप्रतिक्षित कतिपय बैंक भने तत्काल लाभांश घोषणा गर्ने कुनै सूरसारमै छैनन् ।

देशका वाणिज्य बैंकहरुमाथि राष्ट्रबैंकले लादेको कैयन प्रभिजन र नियामकीय व्यवस्थाका कारण यो वर्ष लाभांश घोषणा गत सालहरुजस्तो उत्साहपूर्ण नम्बरमा आउने अवस्था छैन । यस्तै, यो वर्ष बैंकहरुले बोनस सेयरभन्दा नगद लाभांशलाई प्राथमिकतामा राखेर लाभांश घोषणा गर्ने ट्रेण्ड देखिएको छ । 

सेयरको दोश्रो बजारमा ‘हटकेक’ र ‘ब्लुचिप’ कम्पनीको रुपमा स्थापित कतिपय बैंकहरुले भने लाभांश घोषणाको तयारीसम्म पनि गरेका छैनन् । सेयर बजारका लगानीकर्ताहरुले कम्तीमा तिहारअघि नै ती निश्चित बैंकहरुको लाभांश घोषणा होला भन्ने अपेक्षा गरेका थिए, जुन पूरा हुने अवस्था छैन । 

अघिल्लो वर्षहरु झै यो वर्ष पनि लगानीकर्ताको ध्यान नवील बैंकतिर बढी देखिन्छ । नवील बैंकले अहिलेको विषम परिस्थितिमा पनि २५ प्रतिशतभन्दा माथिकै लाभांश वितरण गर्नेमा लगानीकर्ताहरु विश्वस्त देखिएका छन् । तर, उनीहरुको चासो बोनस सेयर र नगद लाभांश कति–कतिको दरले आउला भन्नेमा छ । कतिपयले नवील बैंकले तिहारअघि नै लाभांश घोषणा गरिसक्ला भन्ने समेत अनुमान गरेका थिए । तर, बैंकको तयारी भने तिहारअघि नै लाभांश घोषणा गर्ने छैन।

बैंकका एक उच्च अधिकारीकाअनुसार नेपाल बंगलादेश बैंकसँग हालै मात्र मर्जर सकेर एकीकृत कारोबार सुरु गरेका कारण गत आर्थिक वर्षको वित्तीय विवरण राष्ट्रबैंकमा पठाउने काममै ढिलाई भइरहेको छ । ‘हामीले राष्ट्रबैंकमा स्वीकृतिका लागि पठाउने वासलात नै तयार गरिसकेका छैनौं ।’ ती अधिकारीले भने–‘त्यसकारण तिहारअघि लाभांश घोषणा हुने सम्भावना छैन ।’ 

ती अधिकारीका अनुसार वासलात तिहारपछि राष्ट्रबैंकमा पठाइनेछ र त्यहाँबाट स्वीकृत भएर आएपछि मात्र लाभांश घोषणा हुनेछ । यो प्रक्रिया पूरा भई लाभांश घोषणा गर्नलाई कम्तीमा कात्तिक मसान्तसम्मको समय लाग्नसक्छ । 

यसअघिको वर्षहरुमा राम्रै लाभांश घोषणा गरेको हिमालयन बैंकको पनि तिहारअघि लाभांश घोषणाको सम्भावना छैन । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्रबैंकमा एकसाताअघि नै पठाइएको भए पनि गभर्नर, डेपुटी गभर्नर लगायतका उच्च अधिकारी देशबाहिर रहेका कारण केही ढिलाई हुन गएको दाबी गरे । ‘अब उहाँहरु पनि स्वदेश फर्किनुभएको छ । तिहारपछिसम्म स्वीकृत भएर आउला, त्यसपछि लाभांश घोषणा गर्नेछौं ।’ उनले थपे । 

यसपटक निकै राम्रो लाभांश घोषणा गर्नसक्ने अवस्थामा रहेको एभरेष्ट बैंकले समेत तिहारअघि लगानीकर्तालाई सुखद समाचार दिने छैन । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङका अनुसार नेपाल राष्ट्रबैंकमा गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि पठाइएको र तिहारअघिसम्म आउनसक्ने सम्भावना छ । तर, वित्तीय विवरण स्वीकृत भएर आए पनि तत्काल लाभांश घोषणा गर्नसक्ने अवस्था छैन । ‘हाम्रा केही सञ्चालकहरु भारतबाट तिहारपछि आउने कुरा छ, त्यसपछि बस्ने बोर्ड बैठकले मात्र लाभांश घोषणा गर्नेछ ।’–उनले थपे । 

गत वर्ष क्यापिटल एडेक्वेसी रेसियो सम्बन्धी व्यवस्थाका कारण राम्रो लाभांश बाँड्नसक्ने अवस्थामा भए पनि नपाएको एनआइसी एशिया बैंकतर्फ पनि लगानीकर्ताको आँखा छ । एनआइसी एशिया बैंकले भने गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्रबैंकमा पठाइसकेको छैन । ‘हामी तिहारपछि मात्र पठाउँछौं ।’ बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले भने–‘त्यसपछि मात्र हामीले यो वर्ष लाभांश बाँड्न पाउने या नपाउने, पाउँदा कतिसम्म पाउने भन्ने लगायतका विषय छिनोफानो होला ।’