काठमाण्डौ । नवील बैंक लिमीटेडले चालु आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमासमा खूद मुनाफा बढाएको छ । 

बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद मुनाफा ४१.३० प्रतिशतले बढाएर १ अर्ब ५७ करोड माथि पुर्याएको हो । यो पटकको नाफातर्फको बढोत्तरीको मुख्य कारण बंगलादेश बैंकलाई गाभेर ठूलो आकारको बन्नु देखिन्छ । 

समीक्षा अवधिमा बैंकले वितरणयोग्य मुनाफातर्फ अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४२ प्रतिशतले छलाङ मारेको छ । अघिल्लो वर्ष यही अवधिसम्म ८५ करोड १९ लाख रुपैयाँमा सीमित यस्तो मुनाफा बढेर २ अर्ब ९१ करोडको उचाई चुमेको हो ।

बैंकले सञ्चालन मुनाफातर्फ पनि ४० प्रतिशत बढीको प्रगति गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ५८ करोड रुपैयाँमा सीमित सञ्चालन मुनाफा बढेर २ अर्ब २३ करोडको उचाईमा पुगेको छ । 

व्यवसाय वृद्धिमा आक्रामक नवील बैंकले खूद ब्याज आम्दानी पनि बढाएको छ । जसअनुसार समीक्षा अवधिमा बैंकले ३ अर्ब ६७ करोड यस्तो आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्ममा यस्तो आम्दानी २ अर्ब २४ करोडमा सीमित थियो । 

खूद मुनाफा बढे पनि बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) भने घटेको छ । अघिल्लो वर्षको यही अवधिसम्म रु. ३२.११ रहेको इपीएस घटेर रु.२७.५३ मा सीमित बन्न पुगेको हो । 

नेपाल बंगलादेश बैंक गाभिएपछिको प्रभाव खराब कर्जाको अनुपात(एनपीएल)मा देखिएको छ । जसअनुसार अघिल्लो वर्षको यही अवधिसम्म १.१३ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात बढेर २.३३ प्रतिशत पुगेको छ । 

समीक्षा अवधिसम्म नवीलले ३ खर्ब ३४ अर्ब बढी निक्षेप संकलन गरी ३ खर्ब ५ अर्ब बढी कर्जा प्रवाह गरेको देखिन्छ । अघिल्लो वर्षको समान अवधिको तुलनामा निक्षेप र कर्जातर्फ सामान्य मात्र प्रगति भएको हो ।