काठमाण्डौ । लामो समयदेखि कर्मचारीहरुको बढुवा नभएको र आन्तरिक मूल्यांकनमा समेत पक्षपात भएको आरोप लगाउँदै देशकै प्रतिष्ठित निजी क्षेत्रको बैंक नबील बैंकमा कर्मचारीहरुले एकसातादेखि आन्दोलनलाई जारी राखेका छन् । 

यसअघि आन्दोलनका विभिन्न चरण संचालन गरेका कर्मचारीहरुले मंगलबारदेखि अनसन थालेका छन् । 

नबील बैंक कर्मचारी संघको अगुुवाईमा बंैक परिसरमा आन्दोलन भइरहेको हो । कर्मचारीहरुले कर्मचारी विनियमावलीको पूर्ण पालना हुनुुपर्ने, कर्मचारीको वृति विकास सुनिश्चित हुनुपर्ने लगायतका माग राखेका छन् । 

कर्मचारीको जायज माग सुन्नुको साटो निषेध गर्न खोज्ने बैंक व्यवस्थापनले राजीनामा समेत दिनुपर्ने उनीहरुको माग छ । 

बैंकले आन्तरिक कर्मचारीको बढुवाका लागि परीक्षा लिए पनि बर्ष दिन पुुग्दा समेत नतिजा सार्वजनिक नगरेको, संस्थागत सुशासन पालना नगरेको, व्यवस्थापनले कार्यसम्पादक मूल्यांकनमा समेत नजिककालाई मात्र काखी च्यापिएको, साना र ठूला तहका कर्मचारीबीचको विभेद उत्कर्षमा पुुगेको कर्मचारीहरुको आरोप छ । 

उनीहरुले बैंकमा सुशासन कायम गर, नातावाद कृपावाद बन्द गर, कर्मचारी मार्न पाइदैन सेत्तो हात्ती चाहिँदैन, कर्मचारीको वृति विकास रोक्न पाइदैन, असक्षम बैंक व्यवस्थापन राजीनामा दे, ग्राहक सेवा चुस्तदुुरुस्त गर, असक्षम मानव संसाधन प्रमुख राजीनामा दे, दोषीलाई कारबाही गर लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् । 

आफ्ना माग पूरा नभएसम्म अनसनलाई जारी राख्ने कर्मचारीहरुले बताएका छन् । आन्दोलनमा बैंकका चारसय बढी कर्मचारीको समर्थन रहेको बताइएको छ । प्रत्येक दिन पाँचजनाको दरले अनसन बस्ने सूचि नै तयार गरी कर्मचारीले आन्दोलन थालेका पाइएको छ । 

कर्मचारीले लगाएका आरोप तथा मागको बिषयमा प्रतिक्रिया लिन खोज्दा नवील बैंकका प्रमुख कार्यकारी अधिकृत सशीन जोशी बोल्न चाहेनन् । 

*भूलसुधार : यसअघिको समाचारमा नवील बैंकको सीइओ सशीन जोशी हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।