काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नागरिक स्टक डिलर कम्पनीलाई लाइसेन्स दिने निश्चित भएको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगानाले नागरिक स्टक डिलर कम्पनीको भौतिक तथा पूर्वाधारलगायत सबै तयारी भएको विषयमा बोर्डले भर्खरै अध्ययन गरिसकेको र लाइसेन्स दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । 
‘मिल्यो भने आजभोलि नै, नभए पनि आगामी साताको आइतबार वा सोमबारभित्र स्टक डिलरको लाइसेन्स दिनेछौं।’ उनले बिजशालासँग भने ।

स्टक डिलरको रुपमा लाइसेन्स दिने प्रक्रिया अन्तिम चरणमा पुगेको भए पनि नागरिक स्टक डिलर कम्पनीले भने अनौपचारिक रुपमा दोश्रो बजारबाट सेयर उठाउने काम यसअघि नै थालिसकेको छ । लाइसेन्स नै पाइसकेपछि सो कम्पनीले बजारमा आक्रामक उपस्थिति जनाउने तयारी गरेको छ । 

बहुप्रतिक्षित नागरिक स्टक डिलरको प्रवेशले नेपाली सेयर बजारमा संस्थागत लगानीकर्ताको अभाव पूर्ति गर्ने र बजारको स्थायीत्वका लागि महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।

नागरिक स्टक डिलरमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल टेलिकमको ९ प्रतिशत रहेको छ भने बाँकी ३० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ।

नागरिक स्टक डिलरको हाल चुक्तापुँजी साढे ३ अर्ब रुपैयाँ रहेको छ। डिलरको आईपीओ निष्कासनपछि चुक्तापुँजी ५ अर्बको हुनेछ। योबाहेक सहभागी संस्थाहरु मिली एउटा बास्केट फन्ड तयार गर्ने र फन्डको साइज पुँजीको ६ गुणासम्म बनाउन पाउने पोलिसी छ।

सर्वसाधारणका लागि डेढ अर्ब रुपैयाँको आईपीओ भने आगामी २ वर्षभित्रै निष्कासन गर्ने डिलरको तयारी छ।