– भक्तराज रसाइली

काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनी औपचारिक रुपमा यही साता सेयर बजार प्रवेश गर्ने भएको छ।

कम्पनीका सीइओ महेश्वरलाल श्रेष्ठले यो साता सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा डिलरका जनशक्तिलाई राफसाफ तथा फछ्र्यौटसम्बन्धी तालिममा पठाउने तयारी रहेको र त्यसलगत्तै सीडीएसबाट पनि अनुमति पाइसकेपछि स्टक डिलरका रुपमा बजार प्रवेश गर्ने जानकारी दिए। डिलरसँग हाल उपलब्ध फन्ड तथा रिसोर्सलाई विभिन्न मापदण्डअनुसार बजार प्रवेश गर्ने तरखरमा रहेको श्रेष्ठले बताए।

हाल नयाँ बाँनेश्वरस्थित कृष्ण टावरमा  कार्यालय रहेको नागरिक स्टक डिलरले आवश्यक जनशक्ति तथा पूर्वाधार तयार खडा गरिसकेपछि गत माघमा नियामक नेपाल धितोपत्र बोर्डबाट डिलरको लाइसेन्स प्राप्त गरिसकेको छ। कम्पनीले बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट पनि लाइसेन्स प्राप्त गरिसकेको छ।

यही साताबाट औपचारिक रुपमा स्टक डिलरका रुपमा प्रवेश गर्न लागेको नागरिक स्टक डिलरले केही समयदेखि दोस्रो बजारबाट स्टक ब्रोकरमार्फत सेयर खरिदबिक्री भने गर्दै आइरहेको छ।

नागरिक स्टक डिलरमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत रहेको छ। बाँकी ३० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ।

नागरिक स्टक डिलरको हाल चुक्तापुँजी साढे ३ अर्ब रुपैयाँ रहेको छ। डिलरको आईपीओ निष्कासनपछि चुक्तापुँजी ५ अर्बको हुनेछ। योबाहेक सहभागी संस्थाहरु मिली एउटा बास्केट फन्ड तयारी गर्ने र फन्डको साइज पुँजीको ६ गुणासम्म बनाउन पाउने पोलिसी छ।

सर्वसाधारणका लागि डेढ अर्ब रुपैयाँको आईपीओ भने आगामी २ वर्षभित्रै निष्कासन गर्ने डिलरको तयारी छ।