काठमाण्डौं । नागरिक लघुवित्त वित्तीय संस्थाले बिहीबार एक समारोहका बीच काभ्रेमा केन्द्रीय कार्यालयको उद्घाटन गरेको छ । 

नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले केन्द्रीय कार्यालयको उद्घाटन गरेका हुन् । 

बनेपा नगरपालिका वडा नं १४ साँगा, काभ्रेमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले मिति २०७४ साल माघ १५ गते देखि कारोबार सुरु गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजत प्राप्त नागरिक लघुवित्त वित्तीय संस्थाको उद्घाटन समारोहमा संस्थाका प्रबन्ध सञ्चालक सुन्दर खड्काले स्वागत मन्तव्य राख्दै लक्षित वर्गसम्म पुगी स्तरीय सेवा प्रदान गर्न वित्तीय संस्था कटिवद्ध रहने प्रतिवद्दता व्यक्त गरे ।

दश जिल्ला स्वीकृति लिएको नागरिक लघुवित्तले यही बैशाख २०७५ बाट सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लाका बैंकिंग पहुँच नपुगेका क्षेत्रहरुको पहिचान गरी उक्त स्थानमा शाखा विस्तार गर्ने योजना रहेको सो क्रममा जानकारी दिइएको थियो।

सो अवसरमा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लघुवित्तका चुनौती, अवसर र वित्तीय सुशासन सम्बन्धमा विशेष ध्यान दिनु पर्ने बताए ।

संस्थाका अध्यक्ष लक्ष्मीराज पौडेलले स्वीकृत कार्य क्षेत्रभित्रका विपन्न वर्गसम्म सरल एंव सुलभ रुपमा वित्तीय सेवा उपलब्ध गराउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।