काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनी लिमिटेडसहित ४ कम्पनीले आज पुस २३ गते वार्षिक साधारणसभा (एजीएम) गर्दैछन्।

नगरिक स्टक डिलर, ज्योति विकास बैंक, चिलिमे हाइड्रोपावर र छिमेक लघुवित्तले आज वार्षिक साधारणसभा गर्ने भएका हुन्।  

नागरिक स्टक डिलरको दोस्रो वार्षिक साधारणसभा नयाँबानेश्वरस्थित नागरिक लगानी कोष भवनमा अपराह्न ३ः३० बजेबाट सुरु हुनेछ।

सभाले विशेष प्रस्तावका रुपमा राखिने आईपीओ निष्कासनको अजेन्डा अनुमोदन गर्नेछ। नियमनकारी नियकाको स्वीकृतिपश्चात जारी गर्ने गरी कम्पनीको जारी पुँजीको ३० प्रतिशतले हुने १ अर्ब ५० करोड रुपैयाँबराबरको १ करोड ५० लाख कित्ता आईपीओ (सर्वसाधारण समूहभित्र नै वर्गीकरण हुने गरी कर्मचारीलाई छुट्याइएको २ प्रतिशत सेयरसहित) जारी गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। आईपीओ निष्कासनका लागि गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गनेृछ। 

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि अनुमोदन गर्नेछ। 

यसैग्री ज्योति विकास बैंकको १४ औँ वार्षिक साधारणसभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १५.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ११ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। 

सभाले चुक्तापुँजी ५ अर्ब रुपैयाँलाई बढाएर ८ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने वा प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण काम अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभामा पारित हुनेछ। 

सभामा गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित हुनेछन्।

लाभांश र सभा प्रयोजनका लागि बैंकले गत पुस ९ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

चिलिमे हाइड्रोपावरको २५ औँ वार्षिक साधारणसभा काठमाण्डौको धुम्बाराहीस्थित स्काई जोन रेस्ट्रो एन्ड बैंक्वेटमा बिहान ११ बजेबाट हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो गत पुस १५ गते बुक क्लोज गरिसकेको छ। यसको मतलब गत पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभा मकवानपुरको हेटौँडास्थित होटेल सामनामा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल ३० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

सभाले एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर वा प्राप्ति गर्न उपयुक्त देखिएमा सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

नेपाल राष्ट्र बैंकको स्वीकृति लिई डिजिटल बैंकिङसम्बन्धी कार्यहरु गर्न प्रबन्धपत्रमा थप गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। सभामा गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका प्रतिवेदन छलफल गरी अनुमोदन गरिनेछन्। 

लाभांश र सभा प्रयोजनका लागि संस्थाले पुस ७ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।