काठमाण्डौ । भयावह रुपमा देशभरि फैलिएको कोरोना महामारीको नियन्त्रण र त्यसको सहजताका लागि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाल एपीएफ अस्पतालअन्तर्गतको कोभिड—१९ युनिफाइड अस्पताललाई विभिन्न मेडिकेटेड सामान सहयोग गरेको छ।

आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत नाडाले अस्पताललाई स्लिपर ५० सेट, थर्मोसल व्वाइलेट ५० सेट, बेड सिट ५० वटा, टावेल ५० वटा र  मास्क ५ हजार वटासमेत गरी कुल ५ थरिका मेडिकेटेड सामान सहयोग गरेको छ। ती सामग्री अस्पतालकी प्रा.स.प्र. उपनिरीक्षक डा. मिना कुँवरलाई नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले हस्तान्तरण गरेका छन्। ती सामान हस्तान्तरण गर्ने क्रममा अध्यक्ष दुलालले नाडाका तर्फबाट सक्दो थप सहयोगसमेत गर्दै जाने पनि बताए। 

कार्यक्रममा डा. मिना कुँवरले यस्तो बन्दाबन्दीको अवस्थामा पनि यसरी सहयोग पुर्याइदिएकोमा नाडालाई धन्यवाद दिइन्।

सहयोगस्वरुप प्राप्त यी मेडिकेटेड सामानहरु यस अस्पतालमा आउने विपन्न परिवारका सदस्यहरुलाई वितरण गरिने उनले जानकारी दिइन्। 

हस्तान्तरण कार्यक्रममा अस्पतालकातर्फबाट प्रा.स.प्र. उपरीक्षक तथा प्रवक्ता डा. प्रविन नेपाल, नर्सिङ मेट्रोन प्रा.स.प्र. नायब उपरीक्षक लक्ष्मी अधिकारीसमेतको उपस्थिति थियो। 

कार्यक्रममा नाडाकातर्फबाट महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल तथा नाडाका लेखा प्रमुख विष्णुकुमार श्रेष्ठसमेतको उपस्थिति थियो। कार्यक्रमको सम्पूर्ण व्यवस्थापन महासचिव रिजालले गरेका थिए।