– रेखा चन्द

काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले नेपालमै पहिलोपटक आयोजना गरेको ‘नाडा ईभी एक्सपो’ आजबाट काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको छ। 

एक्सपोको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन्। यो एक्सपो असोज ९ गतेसम्म सञ्चालन हुनेछ। 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नाडाका अध्यक्ष ध्रुवबहादुर थापाले पछिल्लो समय विद्युतीय गाडीप्रति आकर्षण बढ्दो रहेको अवस्थामा यो एक्सपो नेपालकै इतिहासमा पहिलोपटक आयोजना भएकोले यसलाई ऐतिहासिक अवसरका रुपमा लिनुपर्ने बताए। 

थापाले राज्यको कुल राजस्वमा २५ प्रतिशत योगदान अटोमोबाइल्स क्षेत्रको रहेको दाबी गरे। ‘प्रत्यक्ष रोजगारीमा १ लाख र अप्रत्यक्ष रोजगारीमा १० लाख रोजगारी उपलब्ध गराएको छ’, उनले भने। 

अध्यक्ष थापाले विद्युतीय सवारीसाधनको माग दिनप्रतिदिन बढ्दै गएको र यी सवारीसाधनको प्रयोगले प्रदूष नियन्त्रण गर्नुका साथै आफ्नै देशमा उत्पादित जलविद्युत खपत बढाउने र देशलाई आत्मनिर्भर बनाउने बताए। ‘यसले ग्रिन नेपालको अवरणलाई पनि साकार पार्नेछ’, उनले भने, ‘यसले देशको विकासका लागि दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्नेछ। 

यो एक्सपोमा विभिन्न ब्रान्डका विद्युतीय सवारीसाधनका साथै स्पेयर पार्टस र वित्तीय संस्थाहरुले भाग लिएका छन्। जसअन्तर्गत ७ वटा ४ पांग्रे, एउटा ३ पांग्रे र १६ वटा २ पांग्रे ब्रान्डले स्टल राखेका छन्। एक्सपोमा २३ वटा अटो कम्पोनेन्ट तथा स्पेयर पार्टस र ४ वटा वित्तीय संस्थाले पनि सहभागी छन्।