काठमाण्डौ । नाडा र नेपाल उद्योग परिसंघबीच द्विपक्षीय सम्बन्ध विस्तारका विषयमा छलफल भएको छ। 

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ७ सदस्यीय नाडा प्रतिनिधिमण्डलले परिसंघका नव नर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवाललाई आफ्नो कार्यकालको सफलताको शुभकामना दिँदै द्विपक्षीय सम्बन्ध विस्तारका सम्बन्धमा छलफल गरेको हो। भेटघाटमा नाडाका अध्यक्ष दुलालले दुई संस्थाहरुबीचको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने, नेपालको निजी क्षेत्रको सवालमा एकबद्ध भएर अघि बढ्ने र अन्य सम्भाव्य क्षेत्रहरुमा समेत सहकार्य गरेर अघि बढ्नुपर्ने बताए। 

अध्यक्ष दुलालले नाडाले ७ वटै प्रदेशमा प्रदेशस्तरीय एसोसिएसनहरु स्थापना भइसकेको र नेपालमा अटोमोबाइल उद्योगहरुसमेत खोल्न सुरुआतसमेत भइसकेको जानकारी दिए। 

भेटघाटमा उपाध्यक्ष करण चौधरीले नाडामा धेरै रुपान्तरण भइसकेको र त्यहीअनुसार सदस्य संख्यामा पनि उल्लेख्य रुपमा वृद्धि भएको भन्दै निजी क्षेत्रकोसवालमा परिसंघसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए। 

छलफलमा महासचिव सुनिल रिजालले निजी क्षेत्रका साझा सवालहरुमा सहकार्य गरेर अघि बढ्ने बताए। छलफलमा केन्द्रीय कार्यसमिति सदस्य तथा मोटरसाइकल समितिका सभापति अभिक ज्योतिले दुई संस्थाबीच पारस्परिक सहयोगको वातावरण बनाउनुपर्ने धारणा राखे। 

यसैगरी केन्द्रीय कार्य समिति सदस्य तथा विद्युतीय सवारीसाधन समितिका सभापति धु्रव थापाले परिसंघसँग हातेमालो गरेर अघि बढ्नुपर्ने धारणा राख्दै विद्युतीय सवारीसाधनको व्यवसायमा देखा परेका विविध समस्याबारे पनि विचार विमर्श गरेका थिए। 

छलफलमा परिसंघका अध्यक्ष विष्णृुकुमार अग्रवालले पेट्रोलियम पदार्थको प्रयोग पनि अधिकांश रुपमा अटोमोबाइलमा नै प्रयोग हुने सन्दर्भमा नेपालमा अटोमोवाइल व्यवसायले ठूलो क्षेत्र ओगटेको बताए। उनले परिसंघले नेपालमा उद्योगव्यवसायको विस्तारका लागि पहल गरिरहेको र यसबाट पुँजी निर्माणमा ठूलो सहयोग पुग्ने उल्लेख गर्दै उद्योग स्थापनाका लागि सरकारकातर्फबाट गरिनुपर्ने सहयोगका सम्बन्धमा समेत चर्चा गरे। 

छलफलमा परिसंघका उपाध्यक्ष हेमराज ढकालले स्वदेशी उद्योगहरुको विस्तारका लागि कसरी अघि बढ्ने भन्ने विषयमा पहल भइरहेको बताए। 

छलफलमा नाडाका सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल तथा सुभआशिस थपलियासमेतको उपस्थिति थियो।