काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा डोकेको छ।

संस्थाको गत वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ ७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको नागार्जुनस्थित रानीवन पार्टी प्यालेस एन्ड रेस्टुरेन्टमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले संस्थामा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व संरचना परिवर्तन गरी ५१ः४९ गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। हाल संस्थामा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७०ः३० रहेको छ।

त्यस्तै उपयुक्त लघुवित्त संस्थासँग आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समिति दिने विशेष प्रस्ताव पनि सभामा पारित हुनेछ। त्यसो त यो लघुवित्तले डिप्रोक्स लघुवित्तमा प्राप्ति जाने समझदारी गरिसकेको छ। सोही कारण गत पुस १६ गतेदेखि यो लघुवित्तको सेयर कारोबार धितोपत्र दोस्रो बजारमा रोक्का राखिएको छ। 

सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायत महत्वपूर्ण प्रतिवेदनहरु अनुमोदन गर्नेछ। 

गत पुस १६ गतेदेखि नै यो लघुवित्तको सेयर कारोबार रोक्का रहेकोले वार्षिक साधारणसभा सेयर दाखिला खारेज बन्द यथावत हुने कम्पनीले जनाएको छ।