काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा आज माघ १४ गते डोकेको छ। 

सभा धादिङको नौबिसेस्थित नौबिसे एग्रो रिसोर्टमा बिहान ११ बजेदेखि अनलाइन माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २१.०५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २० प्रतिशत बोनस र कर प्रयोजनार्थ १.०५३ प्रतिशत नगद लाभांश छन्।

बोनस सेयर जारीपछि जारी पुँजी र चुक्ता पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

डिप्रोक्स लघुवित्तले नाडेप लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा समझदारी भई नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएकोमा सेयर संरचना र कर्मचारी पद समायोजनमा दुवै वित्तीय संस्था समझदारीमा पुग्न सकेन। त्यसपछि दुवै संस्थाले राष्ट्र संघसमक्ष सैद्धान्तिक सहमति बदर गर्न अनुरोध गरे। राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति बदर भई आएकोले सो सम्बन्धमा भए गरेका सम्पूर्ण कार्यहरुको अनुमोदन पनि सभाले गर्नेछ। 

अन्य लघुवित्त गाभ्ने, गाभिने र प्राप्त गर्न उपयुक्त प्रस्ताव आएमा सो कार्यका लाग समझदारीपत्रमा हस्ताक्षरदेखि सम्पूर्ण कार्य पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।