काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल) लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा छलाङ हानेको छ । यो बिमा कम्पनीले यो अवधिमा ३ करोड ७३ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको  यही अवधिमा यो कम्पनीको नाफा ८५ लाख ८० हजारमा सीमित थियो । यो हिसाबले खूद नाफामा यो कम्पनीले ३३५.४७ प्रतिशतले फड्को मारेको हो ।  

कम्पनीले बिमा शुल्कतर्फको आम्दानीमा झण्डै दोब्बरले वृद्धि गर्दा नाफामा छलांग हानेको हो । अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ७७ करोड रुपैयाँ रहेको खूद बिमा शुल्क बढेर यो वर्ष २ अर्ब २१ करोडको उचाईमा पुुगेको छ । 

लगानी, कर्जा तथा अन्यबाट हुने आयमा पनि निकै ठूलो फड्को मारेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आय ३२ करोड ९२ लाख रहेकोमा बढेर यो वर्ष ७५ करोड १४ लाख पुुगेको हो । 

यो बिमा कम्पनीले यो अवधिमा ४६ करोड ८५ लाख खूद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी २५  करोड ४१ लख मात्र थियो । कम्पनीले २ अर्ब ४८ करोड रुपैयाँलाई जीवन बिमा कोषमा सारेको छ भने ३ करोड ४४ लाख रुपैयाँलाई नाफा नोक्सान हिसाबमा सारेको छ । 

समीक्षा अवधिमा यो कम्पनीमा ७ लाख २० हजार कुल बिमालेखको संख्या रहेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो संख्या ६ लाख ४१ ह्जार मात्र थियो । 

यो बिमा कम्पनीले जगेडाकोषलाई समेत थप मजबुत बनाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १८ लाख ८५ हजार रहेको कोषमा समीक्षा अवधिसम्म ३० करोड ५० लाख पुुगेको छ । २८ अर्ब ४० करोडमा सीमित जीवन बिमा कोष ३६ अर्ब ३८ करोडको उचाईमा पुुगेको छ । 

पहिलो त्रैमासको वार्षिकीकृत प्रतिसेयर आम्दानी ३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७४८ गुणा, प्रतिसेयर नेटवर्थ १२९.७१ रुपैयाँ कायम भएको छ ।