काठमाण्डौ । खूद नाफातर्फ ४१ प्रतिशतको छलाङ मारे पनि लक्ष्मी बैंकको रिजर्ब कोषमा भने पहिरो गएको देखिएको छ । 

बैंकले मंगलबार प्रकाशित गरेको अपरिस्कृत तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार ५६ करोड ९१ लख रुपैयाँमा सीमित नाफा बढाएर ८० करोड २६ लाखको उचाई चुमाए पनि बित्तीय स्वास्थ्यका लागि महत्वपूर्ण सूचक रिजर्ब कोषमा भने ५० प्रतिशतको पहिरो व्यहोर्नुपरेको देखिएको छ ।

अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो बैंकको  रिजर्बमा ४ अर्ब ३२ करोड रहेकोमा घटेर यो वर्षको सोही अवधिमा २ अर्ब  १६ करोडमा सीमित बन्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकका अन्य सूचक सन्तोषजनक नै छन् । खूद ब्याज आम्दानी १ अर्ब १७ करोडबाट बढेर १ अर्ब ५४ करोडको उचाईमा पुगेको  छ भने ७३ करोड ६२ लाखमा सीमित संचालन नाफा बढेर १ अर्ब १० करोड ९४ लाखको  उचाईमा पुगेको छ ।

बैंकले यो अवधिमा ६३ अर्ब २६ करोड निक्षेप संकलन गरी ५८ अर्ब ६९ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ५७ अर्ब ८० करोड निक्षेप संकलन गरी ५० अर्ब २१ करोड कर्जा परिचालन गरेको थियो ।

बैंकले अघिल्लो वर्षको यही अवधिमा १.७९ प्रतिशत रहेको निस्क्रिय कर्जालाई घटाएर १.१६ प्रतिशतमा झारेको छ । 

३ अर्ब १५ करोडमा सीमित चुक्तापूँजीमा १६० प्रतिशतले वृद्धि गरी ८ अर्ब २२ करोड पुर्याए पनि पूँजी अनुसार नाफा आर्जन हुन नसक्दा वार्षिकीकृत प्रतिसेयर आम्दानीमा पहिरो गएको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको इपीएस २४.०२ रुपैयाँ रहेकोमा घटेर यो वर्ष १३.०२ रुपैयाँ सीमित भएको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२६.३८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.९६ गुणा कायम भएको छ ।