काठमाण्डौ । खराब कर्जा असूलेर सिभिल बैंक लिमीटेडले चमात्कार देखाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ करोड ४५ लाख नाफा गरेको यो बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ३३ लाख खूद नाफा कमाएको हो । 

कुल ३१ करोड ४५ लाख रुपैयाँ राइट ब्याक गरेको सिभिल बैंकको खूद ब्याज आम्दानीतर्फ पनि वृृद्धि भएको छ । अघिल्लो वर्षको यही अवधिमा २२ करोड ९७ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर २८ करोड ६२ लाख पुुगेको हो । 

यो अवधिमा बैंकले ३४ अर्ब २४ करोड निक्षेप संकलन गरी ३० अर्ब ९५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ३१ ऋर्ब ३४ करोड निक्षेप संकलन गरी २६ अर्ब ३४ करोड कर्जा परिचालन गरेको छ । 

अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ५३ करोड ७९ लाख रुपैयाँ रहेको रिजर्ब कोषमा समीक्षा अवधिमा १ अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको छ । यो हिसाबले रिजर्ब कोषमा २२६ प्रतिशतको प्रगति हासिल भएको देखिन्छ । 

अधिकांश बैंक तथा बित्तीय संस्थाहरुले बढेको पूँजीअनुसार नाफा कमाउन नसक्दा र खर्च व्यवस्थापनमा ध्यान नदिंदा प्रतिसेयर आम्दानीमा पहिरो व्यहोरिरहेको बेला सिभिल बैंकले पनि कमालको प्रदर्शन गरेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा १.८९ रुपैयाँ रहेको यो बैंकको प्रतिसेयर आम्दानी बढेर यो वर्ष ८.४९ पैसा पुुगेको छ । यो प्रगति भविष्यका लागि राम्रो संकेत हो ।

अन्य सूचकमा राम्रो सुधार गरे पनि सिभिल बैंकमा खराब कर्जाको भने थुप्रो लागेको देखिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ४.१३ प्रतिशत रहेको यस्तो कर्जा बढेर ४.६९ प्रतिशतमा पुुगेको छ । ५.२६ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर ८.०८ प्रतिशत पुुगेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३३.८७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २७.३३ गुणा कायम भएको छ ।