काठमाण्डौ । ज्योति विकास बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५७ लाख खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा यो बैंकले ४ करोड ३५ लाख नाफा कमाएको थियो । 

खर्च व्यवस्थापनमा ध्यान दिंदा यो विकास बैंकको खूद ब्याज आम्दानीतर्फ राम्रो प्रगति भएको छ । अघिल्लो वर्षको यही अवधिमा ९ करोड ९४ लाख रुपैयाँमा सीमित रहेको यस्तो आम्दानी बढेर १२ करोड ८९ लाखको उचाईमा पुुगेको छ । 

ज्योति विकास बैंकले समीक्षा अवधिमा ११ अर्ब ३० करोड निक्षेप संकलन गरी ९ अर्ब ९८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो आबको यही अवधिमा बैंकले ७ अर्ब ९४ करोड निक्षेप संकलन गरी ६ अर्ब ७६ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले रिजर्ब कोषलाई समेत थप मजबुत बनाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३० करोड ७२ लाख रुपैयाँ रहेको कोषमा समीक्षा अवधिसम्म ५१ करोड १४ लाख जम्मा भएको छ । 

बैंकले निस्क्रिय कर्जा असूलीमा विशेष ध्यान दिएको देखिन्छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म २.१३ प्रतिशत रहेको यस्तो कर्जालाई घटाएर ०.८२ प्रतिशतमा सीमित गर्न बैंक व्यवस्थापन सफल बनेको छ । 

९८ करोड ७० लाखमा सीमित चुक्तापूँजी बढेर २ अर्ब २० करोड पुुगेका कारण नाफा बढे पनि प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म १७.६६ रुपैयाँ रहेको इपीएस घटेर समीक्षा अवधिमा ८.२१ रुपैयाँमा सीमित बन्न पुुगेको छ । यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२३.१८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.२८ गुणा कायम भएको छ ।