काठमाण्डौ । चालु आर्थिक  वर्षको पहिलो त्रैमासमा पोखरा फाइनान्स लिमीटेडको खूद नाफा बढेको छ । 

अघिल्लो वर्षको यही अवधिको तुलनामा पोखरा फाइनान्सको खूद नाफा करिब २७ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष १ करोड ४८ लाखमा सीमित नाफा बढेर १ करोड ८८ लाखको  उचाईमा पुगेको हो । 

अघिल्लो वर्षको पहिलो त्रैमाससम्म २ करोड  ३४ लाखमा सीमित संचालन नाफा समेत करिब २६ प्रतिशतले बढेर २ करोड ९४ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा पोखरा फाइनान्सले ४ अर्ब ७७ करोड निक्षेप संकलन गरी तथा २५ करोड सापटी लिई ४ अर्ब ४० करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ३ अर्ब ८० करोड निक्षेप संकलन गरी ३ अर्ब ५२ करोड कर्जा परिचालन गरेको थियो ।

पोखरा फाइनान्सको रिजर्ब कोष समेत घटेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ४२ करोड ५३ लाख रहेको कोष घटी ३७ करोड ९७ लाखमा सीमित बन्न पुगेको हो ।

यो कम्पनीले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानीमा भने उत्साहजनक प्रगति भएको छ । अघिल्लो वर्षको तुलनामा यस्तो आम्दानीतर्फ १०२ प्रतिशतको हाराहारीमा प्रगति भई ५ करोड ६१ लाख आर्जन भएको हो ।

पोखरा फाइनान्सले १.३३ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर १.१९ प्रतिशतमा झारेको छ भने ९ रुपैयाँ ९ पैसा रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि सामान्य बढै ९ रुपैयाँ २४ पैसा कायम भएको छ । 

समीक्षा अवधिमा यो फाइनान्सको प्रतिसेयर नेटवर्थ १४६.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.९७ गुणा कायम भएको छ ।