काठमाण्डौ । नाफामा अत्यासलाग्दो गिरावट आएसँगै एचएसबिसी बैंकले ३५ हजार कर्मचारी कटौति गर्ने भएको छ । 

एचएसबिसी बैंक विश्वकै ठूलोमध्येको एक र यूरोपकै सबैभन्दा ठूलो बैंक हो । बैंकका अफ्रिका, एशिया, ओसिनिया, यूरोप, नर्थ अमेरिका, साउथ अमेरिका, मिडल इस्ट लगायत क्षेत्रका ६४ देशमा ३ हजार ९०० अफिस रहेका छन् । विश्वभर बैंकका ४० मिलियन ग्राहक छन् । यो बैंकले विश्वका विभिन्न देशमा कमर्सियल बंैकिङ, ग्लोबल बैंकिङ, इन्भेष्टमेन्ट बैंकिङ, रिटेल बैंकिङ, वेल्थ म्यानेजमेन्ट तथा ग्लोबल प्राइभेट बैंकिङको काम गर्ने गर्छ । 

सन् २०१९ मा यो बैंकको विश्वव्यापी नाफामा ३३ प्रतिशतको गिरावट आएसँगै बैंकले कर्मचारी कटौतिको कठोर निर्णय लिने रणनीति सार्वजनिक गरेको सिएनएनले जनाएको छ । 

बैंकका प्रवक्तालाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार हाल यो बैंकका विश्वरमा २ लाख ३५ हजार कर्मचारी छन् । तर, अबको ३ वर्षभित्र बैंकले ३५ हजार कर्मचारीलाई विदा गर्नेछ । 

कर्मचारी खर्चको तुलनामा आम्दानी नबढेपछि उसले हालको जनशक्तिलाई करिब १५ प्रतिशतले कटौति गर्न लागेको हो । 

बैंकले सन् २०२२ सम्ममा १०० बिलियन डलर सम्पत्ति समेत बिक्री गर्ने योजना बनाएको छ भने यो अवधिमा बैंकले ४.५ बिलियन खर्च घटाउनेछ । 

लण्डनमा रहेको यो बैंकले वार्षिक वित्तीय विवरण सार्वजनिक गर्दै सम्पत्ति बिक्री, खर्च कटौति र कर्मचारीलाई विदा दिनेजस्ता महत्वपूर्ण योजना समेत सार्वजनिक गरेको हो। 

यो बैंकको करअघिको नाफा सन् २०१९ मा घटेर १३.३ बिलियन डलरमा सीमित बन्न पुगेको छ । सन् २०१८ मा एचएसबिसी बैंकको करअघिको नाफा २० बिलियन डलर थियो । 

एचएसबिसी बैंकको नाफामा आएको गिरावट तथा यसका कारण उसले गरेका घोषणाहरुले हङकङको सेयर बजारमा बैंकको मूल्य एकैदिन २ प्रतिशतले घट्न पुगेको समाचारमा जनाइएको छ । 

हाम्रो विजिनेशले राम्रोसँग रिटर्न दिन सकिरहेको छैन । बैंकका सीइओ नोयल क्वीनले भनेका छन् ःयसकारण हामीले लगानीकर्तालाई राम्रो रिटर्न दिने योजनामा व्यापक संसोधन गर्न खोजेका छौ । जसबाट भविष्यको लगानीको क्षमता बढाउन तथा सस्टेनेबल ग्रोथ प्राप्तिमा सहजता थपिनेछ । 

एचएसबिसीले आउँदा दिनमा आफ्नो लाभांश दरलाई मेन्टेन गर्नेछ, जसका लागि उसले यूरोपमा छरिएर रहेका आफ्नो सेल्स एण्ड ट्रेडिङ र इक्वीटी तथा रिसर्च युनिटहरुमा कटौति गर्नेछ । यस्तै, यूकेका बढीभन्दा बढी स्रोतहरु एशियामा सिफ्ट गर्नेछ । 

बैंकले आफ्ना विश्वभरका धेरै विभागहरुलाई समायोजन गरी पैसा बचाउने कदम समेत चाल्नेछ । अमेरिकामा रहेका बैंकका कुल शाखामध्ये एकतिहाई शाखा बन्द गरिनेछ भने त्यहाँ कर्मचारीरहित डिजिटल बैंकिङमा खास ध्यान दिइनेछ । 

बैंकले आफ्नो इन्भेष्टमेन्ट बैंकिङ रणनीतिमा समेत व्यापक परिवर्तन गर्नेछ । हाल लण्डनमा यो बैंकले आफ्नो मुख्य हब बनाएर काम गरिरहेको छ, तर आगामी दिनमा आफ्नो ग्लोबल बैंकिङ र मार्केटको टिमलाई एशिया र मिडल इस्टमा केन्द्रीत गर्नेछ । यहीकारण उसले लण्डनमा केन्द्रीत स्रोतसाधनलाई एशिया र मिडल इस्टमा सिफ्ट गर्ने र उदाउँदा बजारमा आफ्नो प्रभूत्व कायम गर्ने रणनीति लिएको छ । 

एचएसबिसी बैंकको नाफामा डरलाग्दो गिरावट आउनु पछाडिको कारण समेत बैंकले आफैंले रिपोर्टमा प्रस्तुत गरेको छ । जसअनुसार बैंकले कुल पूँजीको ३० प्रतिशत विजिनेश लोन प्रवाह गरेको छ, जसको रिटर्न पूँजीको लागत भन्दा पनि कम हुने अवस्था आइसकेको छ । घट्दो ब्याजदर, कर्जाबाट हुने लाभांश दरमा आएको पहिरो, हङकङमा भएको लामो समयको प्रदर्शन र कोरोना भाइरसको प्रकोप लगायतले समेत बैंकको नाफामा गिरावट आएको बताइएको छ । 

एचएसबिसीले आगामी अगस्टमा आफ्नो ग्लोबल जनशक्तिको सिनियर लेभलमा बसेर काम गर्ने २ प्रतिशत कर्मचारीहरुलाई कटौति गर्नेछ । जसअनुसार करिब ४७०० जनाले त्यही बेला जागिर गुमाउनेछन् । 

बैंकले कोरोना भाइरसको प्रकोप जारी रहेमा आगामी दिन बैंकका लागि अझ भयावह अवस्था आउनसक्ने चेतावनी समेत दिइसकेको छ। 

यो बैंकले संकटमाथि संकटको सामना गर्नु पछाडिको कारण बैंक व्यवस्थापनको नेतृत्वमा रहेर काम गर्नेहरुले जागिर छाड्नु पनि हो । गत अगस्टमा जोन फ्लिन्टले सीइओबाट राजीनामा गरेपछि बैंकमा समस्या देखिन सुरु भएको थियो । उनले २ वर्षे कार्यकाल पूरा नहुँदै राजीनामा दिएका थिए ।

त्यसपछि व्यवस्थापनको नेतृत्वमा अन्तरिम सीइओको रुपमा नोयल क्वीन आएका हुन् । उनलाई अझै पनि स्थायी सीइओ बनाइएको छैन, यसले समेत बैंकको प्रगतिमा केही असर गरेको हो कि भन्ने विश्लेषण समेत हुन थालेको छ । यहीकारण बैंकले मंगलबार एक विज्ञप्ति जारी गर्दै क्वीनलाई फूल सीइओ बनाउने विषय प्रक्रियामै रहेको प्रष्ट्याएको छ । 

बैंकले पहिलाको सीइओको राजीनामा आएको मितिदेखि ६ महिनादेखि १२ महिनासम्ममा स्थायी सीइओको घोषणा गरिने समेत सो क्रममा प्रष्ट्याएको छ ।