काठमाण्डौ । वाणिज्य बैंकहरुमध्ये नबिल बैंक खुद नाफा आर्जनमा यसपालि पनि अग्रस्थानमा देखिएको छ। 

व्यापार विस्तार निकै आक्रामक देखिएको नबिलले अन्य २६ वटा वाणिज्य बैंकहरुलाई पछाडि पार्दै चालु आर्थिक वर्षको ११ महिनासम्ममा पनि खुद नाफा आर्जनको हिसाबले अग्रस्थान हासिल गर्न सफल भएको हो। जेठसम्म नबिल बैंकले ४ अर्ब ४३ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा २४.२४ प्रतिशतले बढी हो। गत आवमा नबिल बैंकले ३ अर्ब ५६ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको थियो। गत वर्ष पनि नाफाको हिसाबले नबिल बैंक अग्रस्थानमै रहेको थियो।

नाफा आर्जनको हिसाबले ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा छ। यो बैंकले चालु आर्थिक वर्षको जेठसम्म ४ अर्ब ३० करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब ८ करोड रुपैयाँमा सीमित थियो। 

राष्ट्रिय वाणिज्य बैंक भने नाफा आर्जनको हिसाबले तेस्रो स्थानमा रहेको छ। यो बैंक चालु आर्थिक वर्षको जेठसम्म ३ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको छ। जुन गत आर्थिक वर्ष असारसम्मको तुलनामा ११.८९ प्रतिशतले कम हो। गत वर्ष असारसम्म रावा बैंकले ४ अर्ब ४५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। 

चालु आर्थिक वर्षको जेठसम्म ३ अर्ब ६६ करोड रुपैयाँ बढी नाफा आर्जन गरेर एनआईसी एसिया बैंक चौथो स्थानमा रहेको छ। जुन गत वर्षको असारसम्मको तुलनामा १७.५२ प्रतिशतले बढी हो। गत वर्ष असारसम्म एनआईसी एसियाले ३ अर्ब १२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। 

नाफा आर्जनकै हिसाबले प्राइम कमर्सियल बैंक पाँचौँ र नेपाल इन्भेस्टमेन्ट बैंक छैटौँ स्थानमा छन्। यी दुवै बैंकले जेठसम्म क्रमशः ३ अर्ब ४२ करोड रुपैयाँ र ३ अर्ब ४१ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। गत वर्ष असारसम्म प्राइमले २ अर्ब २९ करोड रुपैयाँ र नेपाल इन्भेस्टमेन्ट बैंकले २ अर्ब ५७ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए। 

यसैगरी जेठसम्म एनएमबी बैंकले २ अर्ब ९८ करोड रुपैयाँ र नेपाल बैंकले २ अर्ब ८१ करोड रुपैयाँ नाफा आर्जन गर्दै सातौँ र आठौँ स्थानमा रहन सफल भएका छन्। गत वर्ष असार मसान्तसम्म भने एनएमबीले २ अर्ब २७ करोड रुपैयाँ र नेपाल बैंकले २ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएका थिए। 

नवौँ र दसौँ स्थानमा भने सिद्धार्थ र कृषि विकास बैंक रहेका छन्। यी दुवैले जेठसम्म क्रमशः २ अर्ब ६८ करोड रुपैयाँ र २ अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। 

यसैगरी यो अवधिमा प्रभु, मेगा, कुमारी र सानिमा बैंकले नाफा २ अर्ब रुपैयाँभन्दा माथि आर्जन गर्न सफल भएका छन्। अन्य ११ वटा बैंकले भने १ अर्बदेखि २ अर्ब रुपैयाँको हाराहारीमा नाफा आर्जन गरेका छन्। 

यो अवधिमा सिभिल र सेञ्चुरी कमर्सियल बैंकको नाफा १ अर्ब रुपैयाँभन्दा मुनि देखिएको छ। जेठसम्म सिभिलले ६० करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ भने सञ्चुरी कमर्सियलको नाफा ५३ करोड रुपैयाँ बढी देखिएको छ। 

चालु आर्थिक वर्षको जेठसम्म २७ वटै वाणिज्य बैंकहरुको खुद नाफा ६२ अर्ब ३६ करोड रुपैयाँ बढी देखिएको छ। जुन गत वर्षको असार मसान्तसम्मको तुलनामा १४.७४ प्रतिशतले बढी हो। गत वर्ष असारसम्म वाणिज्य बैंकहरुको नाफा ५४ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो।