-चन्द्रकान्त खनाल
रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा कमसल गुणस्तरको सिमेन्ट उत्पादन गरी बिक्री गरेको उजुरीको आधारमा जिल्लामा सञ्चालित ५ वटा सिमेन्ट उद्योगको गुणस्तर पुनः चेकचाँजका लागि नमूना संकलन गरी केन्द्रीय कार्यालयमा पठाइएको छ । 

बृज सिमेन्ट, सुप्रिम सिमेन्ट, जगदम्बा सिमेन्ट, सिद्धार्थ सिमेन्ट र अर्घाखाँची सिमेन्ट गरी पाँचवटा सिमेन्ट उद्योगहरुबाट उत्पादित सिमेन्टको नमूना संकलन गरी काठमाण्डौ पठाइएको वाणिज्य कार्यालय भैरहवाले जनाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा पुनः ल्याब परीक्षणका लागि नमूना संकलन भएको हो ।

कार्यालय प्रमुख बेदप्रकाश उपाध्यायको नेतृत्वमा सियारी गाउँपालिकाका लेखाअधिकृत रेनुराम ज्ञवाली सहित जिल्ला प्रशासन कार्यालय रुपन्देही, गुणस्तर तथा नापतौल कार्यालय बुटवलसहितको टोलीले उद्योगबाट उत्पादित सिमेन्टको नमूना संकलन गरेको हो । संकलन गरिएको नमूनाको गुणस्तर परीक्षणका लागि काठमाडौं पठाइएको छ । 

भवन निर्माण भइसकेको एक वर्षभित्रै चुहिने, चर्कने, प्लाष्टर छोड्ने, प्लाष्टरलाई हातमा राखेर मिच्दा सिमेन्टको भन्दा माटोको मात्रा बढी देखिनेजस्ता धेरै समस्याहरु उत्पन्न हुन थालेपछि पछिल्लो समयमा सिमेन्ट उद्योगहरु  विवादित बन्दै गएका छन् । जसको कारणले सिमेन्ट उद्योगहरु माथि उजुरी र गुनासाहरु पनि बढ्दै गएकोले वास्तविकता पत्ता लगाउने उद्देश्यले नमूना संकलन गरिएको वाणिज्य कार्यालय भैरहवाले जनाएको छ । 

कार्यालय प्रमुख उपाध्यायले भने–‘पछिल्लो समयमा सिमेन्ट उद्योगहरुका गुनासा र उजुरीहरु बढ्दै गएका छन् । कैफियत कहाँबाट कसले गरेको छ भन्ने ल्याब टेष्ट नहुँदासम्म जानकारी हुने कुरा भएन ।’ उनका अनुसार संकलन गरिएको नमूनाको रिजल्ट आउनको लागि दुई÷तीन महिना कुर्नुपर्ने बाध्यता छ । 

नेपाल अधिराज्यभर काठमाडौंमा मात्र ल्याब हुँदा धेरै समस्याहरु उत्पन्न भएका छन् । देशैभर गरिएको नमूना संकलन एकै ठाउँमा गर्नुपर्ने बाध्यता नै सबैभन्दा बिडम्वनाको कुरा रहेको अधिकारी बताउँछन् । संकलन गरिएको नमूनाको दुई÷चार दिनमा रिजल्ट दिएर तत्काल एक्सन लिनसक्ने गरी व्यवस्था गर्न सके अनुगमन थप प्रभावकारी हुने उनको भनाई छ ।

उनले अनुगमनको जिम्मेवारी स्थानिय तह, प्रदेश सरकार, संघीय सरकार वाणिज्य कार्यालय, जिल्ला प्रशासन, गुणस्तर तथा नापतौल लगायतलाई भएकोले सम्बन्धित सबै सरोकारवालाहरुको प्रतिनिधित्व हुने गरी छुट्टै अनुगमन टोली बनाएर दैनिक अनुगमन गर्दा थप प्रभावकारी हुने र कैफियत गर्नेहरुलाई समेत सचेत गराउने बताए ।