काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले भोलि चैत ३ गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमार्फत बेच्ने भएको छ।

बैंकले गत माघ १३ गतेदेखि फागुन ३ गतेसम्म निष्कासन गरेको हकप्रदमा खरिद आवेदन नपरेको कुल २२ हजार ५५७ कित्ता सेयर लिलामीमार्फत बेच्न लागेको हो। जसमा संस्थापक सेयर १५ हजार ९७४ कित्ता र सर्वसाधारण सेयर ६ हजार ५८३ कित्ता रहेको छ। 

लिलामीमा राखिने सेयरमा इच्छुक जोकोही व्यक्ति, संस्था वा कम्पनीले आफूले लिन चाहेको दररेटमा बोलपत्र पेस गर्न सक्ने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ। बोलपत्र काठमाण्डौको नक्सालस्थित ग्लोबल आईएमई क्यापिटलको कार्यालय तथा ग्लोब आईएमई बैंकका शाखाहरु बिर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ। 

बोलपत्र पेस गर्ने अन्तिम मिति चैत १० गते बैंकिङ समयसम्म तोकिएको छ।