काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि निष्कासन गर्न लागेको सतप्रतिशत हकप्रद सेयरमा आउँदो पुस ७ गतेबाट आवेदन खुला गर्ने भएको छ। 

बैंकले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्नेछ। जसअनुसार बैंकले १०० अंकित दरका कुल १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गर्नेछ। यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट आवेदन दिन मिल्छ। 

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। सेयरधनीहरुले यस हकप्रदमा पुस २७ गतेसम्म आवेदन दिन पाउनेछन्।

नारायणी डेभलपमेन्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले गत मंसिर ३ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो।

बैंक सञ्चालक समितिको गत मंगलबार बसेको बैठकले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ यही मंसिर २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ यो बैंकको हकप्रद भर्न योग्य हुन मंसिर २३ गतेसम्म यो बैंकको सेयरधनी कायम भइसक्नुपर्नेछ।