काठमाण्डौ । झन्डै ७ वर्षपछि धितोपत्र दोस्रो बजारमा नारायणी डेभलपमेन्ट बैंकको सेयर कारोबार भोलि मंगलबार खुल्ने भएको छ।

नेपाल राष्ट्र बैंकले २०७० साल चैत २७ गतेदेखि लागू हुने गरी यो बैंकलाई समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेको थियो। राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दै निक्षेप स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने, जमानत प्राप्त गर्नेलगायतका करोबार गर्न नपाउने गरी यो बैंकलाई समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेको थियो। 

त्यसपछि धितोपत्र दोस्रो बजारमा पनि यो बैंकको सेयर कारोबार रोक्का गरिएको थियो। 

राष्ट्र बैंकको गत साउन ८ गतेको निर्णयअनुसार नारायणी डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त अवस्थाबाट सःसर्त फुकुवा गर्ने निर्णय गरेको थियो।  

आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एक सूचना जारी गर्दै यो बैंकको सेयर कारोबार फुकुवा गरेको जानकारी गराएको हो। 

कारोबार फुकुवासँगै यो बैंकको सेयर प्रतिकित्ता २९० रुपैयाँमा कारोबारमा आउने भएको छ। 

यसैगरी नेप्सेमा आजै यो बैंकको चुक्तामूल्य १०० रुपैयाँ अंकित दरका २ लाख १८ हजार ७४६ कित्ता सेयर सूचीकृत भएको छ। 

राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त यो बैंकको केन्द्रीय कार्यालय चितवनको रत्ननगरमा रहेको छ।