काठमाण्डौ । हङकङले विश्वको ‘सबैभन्दा ठूलो रिसेप्सन’ आयोजना गर्ने तयारी गरेको छ। 

कोभिड महामारीले हङकङको पर्यटन र अर्थतन्त्रमा ठूलो क्षति पुर्याएको छ। यसको क्षतिपूर्तिका लागि हङकङले ठूलो घोषणा गरेको छ। 

हङकङले गत बिहीबारदेखि विदेशी पर्यटकलाई आकर्षित गर्न प्रचार अभियान सुरु गरेको छ। यो अभियानअन्तर्गत विदेशीले हङकङ आउन उडान भाडा तिर्नुपर्ने छैन। हङकङले ५ लाख निःशुल्क हवाई टिकट वितरण गर्ने भएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार हङकङका प्रमुख कार्यकारी अधिकृत जोन लीले गत बिहीबार आफ्नो रिब्रान्डिङ अभियान ‘हेलो हङकङ’को अनावरण गरेका छन्। अभियानले हङकङको विश्वव्यापी छवि सुधार्ने लक्ष्य पनि राखेको छ। यसमार्फत पर्यटक तथा लगानीकर्तालाई हङकङको बारेमा राम्रो जानकारी दिई राम्रो हङकङ देखाइनेछ।

व्यापार र पर्यटनका दिग्गजहरुलाई सम्बोधन गर्दै लीले अब हङकङ आउने मानिसलाई कुनै पनि क्वारेन्टाइन वा प्रतिबन्धको सामना गर्नु नपर्ने पनि बताए। उनले हङकङले सहरको चहलपहल र व्यापारलाई फर्काउन आधा मिलियन निःशुल्क हवाई टिकट दिने बताए।
निःशुल्क टिकट मार्चबाट सुरु हुनेछ। नगरवासीका लागि पनि सरकारले थप ८० हजार निःशुल्क हवाई टिकट दिने घोषणा गरेको छ।लीले भने, ‘यो सायद संसारले देखेको सबैभन्दा ठूलो स्वागत हो।’

रिब्रान्डिङ अभियान सहरको मुख्य सम्मेलन केन्द्रमा रुसी र स्पेनिससहित सबै प्रमुख भाषामा नाराहरुका साथ सुरु भएको छ। अनावरणका क्रममा दर्शकलाई मनोरञ्जन दिन नर्तकहरुको पनि उपस्थिति थियो।

हङकङका अधिकारीहरूले भनेका छन् कि एयरलाइन्स क्याथे प्यासिफिक, हङकङ एक्सप्रेस र हङकङ एयरलाइन्सले मार्च १ देखि विदेशीलाई ६ महिनाका लागि निःशुल्क हवाई टिकट वितरण गर्नेछन्। –एजेन्सी